काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन् । मंगलबार अन्तिम समयसम्म उनको मात्रै एकल उम्मेदवारी परेपछि न्यौपानेलाई निर्विरोध निर्वाचित भएकी हुन् ।
यद्यपि सभापतिमा निर्वाचित भएको घोषणा भने बुधबार बस्ने समितिको बैठकले गर्नेछ । न्यौपानेको मनोनयन प्रस्तावकमा सांसद रामहरि खतिवडा र समर्थकमा एमाले सांसद कृष्ण गोपाल श्रेष्ठ रहेका थिए । एकल उम्मेदवारी परेपछि न्यौपाने समितिको सभापतिमा निर्विरोध भएकी छन् ।
समिति सभापतिमा निविरोध निर्वाचित भएपछि राज्य व्यवस्था समितिमा यसअघि घटेको घटना दोहरिन नदिने गरी सवैलाई विश्वासमा लिएर समितिलाई प्रभावकारी रुपमा अघि बढाउने उनले बताइन् । ‘यो एउटा संवेदनशील र धेरै विधेयकहरु आउने समिति पनि हो । भर्खरै एउटा घटना घटेको छ (कूलिङ पिरियड प्रकरण) त्यस्तो घटना नदोहोरियोस् भन्ने म चाहन्छु ।’ उनले भनिन्, ‘मैँले सबैसँग सहजीकरण गर्दै, सबैको साथ लिएर अगाडि बढ्ने कोसिस गर्छु ।’
राज्य व्यवस्था समितिको सभापतिमा मनोनयन दर्ता गर्नुअघि मंगलबार नै न्यौपानेले संसदीय सुनुवाई समितिको सभापतिबाट राजीनामा दिएका थिए ।
कुलिङ अफ् पिरियड छेडखानी प्रकरणमा विशेष समितिले नैतिक जिम्मेवार ठहर गरेपछि यसअघिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका थिए ।



























































