काठमाडौँ — कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन्। अर्थ मन्त्रालयले उनलाई सञ्चालकका रूपमा मनोनयन गरेसँगै, आज बसेको समितिको बैठकले पौडेललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।
अर्थ मन्त्रालयका अनुसार, पौडेलको व्यवस्थापकीय दक्षता र दीर्घ व्यावसायिक अनुभवका आधारमा उनलाई बैंकको नेतृत्वका लागि अघि सारिएको हो।
पौडेलसँग निजी क्षेत्रका राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूमा २५ वर्षभन्दा बढीको नेतृत्वदायी अनुभव छ। उनी नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धकसमेत हुन्, जहाँ उनले निगमलाई कम्पनी मोडेलमा रूपान्तरण गर्ने योजनामा अग्रणी भूमिका खेलेका थिए।
त्यसअघि उनले चितवन मेडिकल कलेज, नेपाल क्यान्सर अस्पतालजस्ता प्रतिष्ठित संस्थाहरूको नेतृत्व गरेका थिए। वित्त र व्यवस्थापन परामर्शदाताका रूपमा नेपालसहित विदेशका सयभन्दा बढी कम्पनीहरूलाई सेवा पुर्याइसकेका छन्।
हाल पौडेल ब्लु चिप्स भेन्चर क्यापिटल र ब्लु स्काई इनर्जी लिमिटेडका अध्यक्षको भूमिकामा समेत क्रियाशील छन्।



























































