काठमाडौं – आकर्षक तलबको प्रलोभन देखाएर बेरोजगार युवायुवतीलाई क्रोएशियामा रोजगारी लगाईदिन्छु भन्ने नाममा ठगी गर्ने एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा संखुवासभा जिल्ला मकालु गाउँपालिका वडा नं ४ स्थायी ठेगाना भई हाल काठमाडौं बुढानीलकण्ठ नगरपालिका वडा नं १३ बस्ने ४३ वर्षीय धन बहादुर राई रहेका छन् । उनीे क्रोएशिया रोजगारीको आश्वासन दिई झुक्याउँदै १३ लाख ५० हजार ठगी गरेको अभियोगमा पक्राउ परेका हुन्।
पीडितले दिएको जाहेरीको आधारमा अनुसन्धान गर्दा राईले पीडितलाई लामो समयसम्म विदेश पठाउने भन्दै झुक्याएका थिए र अन्ततः सम्पर्कविहीन भएका थिए। उनलाई काठमाडौं जिल्ला, बुढानीलकण्ठ नगरपालिका वडा नं ८ बाट पक्राउ गरिएको हो।
पक्राउ परेका राईलाई थप अनुसन्धान तथा कानुनी कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा बुझाइएको छ।



























































