काठमाडौं–नेपाली काँग्रेसका युवा नेताहरुले पार्टी नेतृत्व एकताबद्ध नहुँदा निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको बताएका छन ।


ADVERTISEMENT


निर्वाचनको समीक्षा गर्न आयोजित केन्द्रीय कार्य समितिको मंगलबारको बैठकमा बोल्दै नेपाली काँग्रेसका युवा नेताहरु डा.मिनेन्द्र रिजाल, बद्री पाण्डे, धनराज गुरुङ, हसन अन्सारीलगायतले पार्टी नेतृत्व एकताबद्ध नभएकै कारण पार्टीले निर्वाचनमा लज्जाजनक हार व्यहोर्नु परेको धारणा राखेका हुन ।


ADVERTISEMENT

# # #


उनीहरुले लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउन नसक्नु, पार्टीको भातृ संगठनहरुलाई निर्वाचनमा उचित ढंगले परिचालन गर्न नसक्नुले पनि पार्टीले निर्वाचनमा हार ब्यहोर्नु पर्नाका कारण रहेको बताएका थिए । युवा नेताहरुले पार्टीको नेतृत्व एकताबद्ध नहुँदा निर्वाचनमा हार व्यहोर्नु परेको धारणा राखेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकमा केन्द्रीय सदस्य गुरुङ र अर्का आमन्त्रित केन्द्रीय सदस्य अन्सारीले यूरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनको प्रतिवेदनप्रति आपत्ति समेत जनाएका थिए ।

काँग्रेस केन्द्रीय कार्य समितिको शुक्रबारबाट जारी केन्द्रीय कार्य समितिको बैठक निर्वाचनको समीक्षामा केन्द्रीत छ । बैठकमा पार्टीका संस्थापन पक्ष र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच आरोप, प्रत्यारोप चलेको छ ।

पौडेल पक्षले सभापति शेरबहादुर देउवाको कार्यशैलीकै कारण पार्टीले निर्वाचनमा हार ब्यहोर्नु परेको आरोप लगाएका छन् भने संस्थापन पक्षले सभापति देउवाको बचाऊ गर्दै आएको छ । पार्टीका प्रवक्ता शर्माले बैठकले पार्टीलाई एकताबद्ध बनाएर लैजाने गरी ठोस नीति तय गर्ने दाबी समेत गरे ।