कामाडौँ– मधेसी मोर्चामा आवद्ध सात दल मध्ये पाँच दलबीच एकता हुने भएको छ। बुधबार राती अवेरसम्म भएको छलफलले एकीकरणको निर्णय भएको हो । सम्भवतः आजै पार्टी एकताको औपचारिक घोषणा हुनेछ।


ADVERTISEMENT


राजेन्द्र महतोको सद्भावना पार्टी, महेन्द्रराय यादवको तराई मधेस सद्भावना पार्टी, महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी र राजकिशोर यादवको मधेसी जनअधिकार फोरम गणतान्त्रिकबीच आज काठमाडौंबाट पार्टी एकताको घोषणा हुने भएको हो। बुधबार राति ८ बजेदेखि आज बिहान ३ बजेसम्म ललितपुरको एक रेष्टुरेन्टमा भएको वार्तामा पार्टीको नाम र नेतृत्वबारे सहमति भएको हो।


ADVERTISEMENT

# # #


पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी’ चुनाव चिन्ह छाता

सो छलफलले ‘मधेस’ शब्द हटाउँदै एकीकृत नयाँ पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी’ राखिने भएको छ । पार्टीको चुनाव चिह्न र झन्डा ‘छाता’ रहने सहमति भएको छ। झन्डामा तीन रंग प्रयोग गरिने भएको छ। पार्टी सामूहिक अध्यक्ष मण्डल बनाएर नेतृत्व सञ्चालन हुनेछ। पार्टी सञ्चानका लागि अध्यक्षमण्डल बनाउने र सबै पार्टीका अध्यक्षहरू अध्यक्ष मण्डलको नेता रहने फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले बताए।
‘सामूहिक अस्थित्वका आधारमा पार्टीलाई चलाइनेछ’, उनले भने, ‘पार्टीका सबै पदाधिकारीहरू पदाधिकारी नै रहनेछन्, पार्टीको नीति बनाउनका लागि विशेष राजनीतिक समिति बनाइनेछ।’ पार्टीले एक वर्ष भित्रमा अधिवेशन गरिसक्ने गरी सहमति भएको यादवले बताए। तमलोपा अध्यक्ष महन्त ठाकुरलाई सर्वोच्च नेता दिन सबै सहमत भए पनि ठाकुरले आफूलाई त्यस्तो पद नचाहिएको र अध्यक्ष मण्डलमै रहेर काम गर्न तयार रहेको बताएका थिए।

पाँच जनाको अध्यक्ष मण्डल

राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशब झाका अनुसार आज सबै दलका अध्यक्ष बसेर पार्टी नामको अन्तिम टुंगो लगाउने छ। पार्टी एकीकरणमा नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झालाई समेत समेट्ने प्रयास भइरहेको तमलोपा संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्लाले बताए। ‘अब अनिल झासँग एक चरण कुरा गरेर हामी एकताको अन्तिम टुंगो लगाउँछौ,’ शुक्लाले भने। झा बुधबार उपत्यका बाहिर भएकाले उनीसँग अरु नेताको कुराकानी हुन सकेको थिएन बिहीबार उनीसँग कुरा गरेर एकता टुंगो लगाउने, त्यसपछि एकता हुने दलको संख्या ६ पुग्ने शुक्लाले बताए। एकीकृत पार्टीलाई हालका अध्यक्षहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव, शरतसिंह भण्डारी, राजकिशोर यादवले सामूहिक अध्यक्षमण्डलको नेताका रुपमा नेतृत्व गर्नेछन्।

अनील झा पनि जोडिएमा उनी पनि अध्यक्ष मण्डलको नेता हुने बैठकको निर्णय छ। उनले राष्ट्रिय जनता पार्टीको सिद्धान्त ‘लोकतान्त्रिक समाजवादमा आधारित समावेशी नेपाल’ हुने बताए। मधेसका जनताको आकांक्षाका लागि सबै पार्टीले त्याग गरेको शुक्लले बताए। हामी एक हुनुको प्रमुख कारण मधेस र मधेसी जनता हुन्। जसले हामीलाई एक जुट बनाएर हरेक उतारचढावमा सँगै हिड्न बाध्य बनायो,’ उनले भने,‘ चाहे आन्दोलन होस् या चुनाव हामी एक भएर जानेछौ।’ मधेसवादी दलहरू एक जुट नभएसम्म राज्यले आफ्ना मागका बारेमा खासै चासो नराख्ने भन्दै उनले राज्यलाई घचघचाउन र कडा रूपमा दबाब दिन सबै पार्टी एक भएको बताए। ‘आन्दोलनमा गए पनि चुनावमा गए पनि एकता चाहिन्छ। जुन बाटो समाते पनि पार्टी एकता अत्यान्त आवश्यक थियो। त्यो अब पुरा भयो,’ उनले भने।

मधेसको ठूलो पार्टी

एकता हुने दलमध्ये सद्भावना पार्टी २०४७ सालमा स्थापित भएको थियो। हाल मधेसमा अस्थित्वमा रहेका मधेस केन्द्रित दलहरुमध्ये संसदमा प्रतिनिधित्वका आधारमा राजपा सबैभन्दा ठूलो दल बनेको छ । अब संसदमा यो दलको सीट संख्या २३ पुगेको छ ।

हाल संसदमा तमलोपाको ११ सीट छ भने सदभावनाको ५ सीट छ । रामसपा र तमसपाको ३/३ सांसद छन् भने गणतान्त्रिक फोरमको १ सीट छ । यो सबै जोड्दा अब नयाँ पार्टी २३ सीटको बनेको छ ।

संसदमा विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकको १६ सीट छभने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमको १५ सीट छ भने । यो आधारमा हेर्दा अब राजपा संसदमा पाँचौं दल बन्न पुगेको छ । ३७ सीट रहेको चौथो शक्ति राप्रपा पछाडि राजपाको स्थान बनेको छ ।
अरू घटक भने २०६४ सालमा स्थापित भएका थिए । एकीकरण गर्ने निर्णयमा पुगेका पार्टीहरुको संसदमा २२ सिट छ। मोर्चामा रहेका दुर्इ दल नेपाल सद्भावना पार्टी र संघीय समाजवादी फोरम भने यो एकता प्रक्रियामा सहभागी भएका छैनन् ।