काठमाडौं–निर्वाचन हारबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी छ । तीन वटै तहमा अनपेक्षित हार बेहोरेको कांग्रेसले छलफलबाटै हारका कारण खोजी गर्न चैत ९ गतेदेखि केन्द्रीय कार्यसमिति बैठक राखेको थियो । निर्वाचनमा भोग्नुपरेको पराजय पहिचान गरी पार्टीलाई थप सशक्त बनाएर अघि बढाउने विषयमा छलफल केन्द्रीत रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।


ADVERTISEMENT


बैठकमा ३० जनाभन्दा बढी केन्द्रीय सदस्यले धारणा राखिसकेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षधरले सभापति शेरबहादुर देउवाको कटुआलोचनामा समय खर्चेका छन् । नेतृत्वको कार्यशैली र अदूरदर्शी निर्णय लिँदा पार्टीलाई घाटा परेको पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र सिटौलाले आरोप लगाएका छन् ।


ADVERTISEMENT

# # #


केन्द्रीय सदस्य रमेश लेखकले निर्वाचन हारको दोष पार्टी सभापतिलाई मात्रै थुपार्न नहुने र सबैले हारको जिम्मा लिएर पार्टीलाई अगाडि बढाउनुपर्ने बताइसकेका छन् । देउवा पक्षधरले नेतृत्वको बचाउ गर्दै धारणा राखेका छन् भने पौडेल पक्षधरले नेतृत्वको विपक्षमा धारणा राख्दा बैठक लम्बिएको छ ।

१३ औँ महाधिवेशन भएको दुई वर्ष बितिसक्दा पनि अधिवेशन सकिएको दुई महिना भित्रमा पूर्णता दिनु पर्ने पदाधिकारी मनोनयन र विभाग गठन अहिलेसम्म नभएकोमा केन्द्रीय सदस्य नेतृत्वप्रति रुष्ट छन् । भातृ तथा शुभेच्छुक संघसंस्थालाई निर्वाचनमा सक्रियतापूर्वक खटाउन नसकेकोप्रति पनि नेतृत्वको आलोचना हुने गरेको छ ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले विधान विपरीत सभापतिले गठन गरेका कार्यसम्पादन समिति भंग गर्दै पार्टीलाई संघीय संरचनाअनुसार लैजान छिटो विधान समिति गठन गर्नुपर्नेमा बैठकले ठोस निर्णय लिने बताए । निर्वाचनमा पार्टीले बेहोरेको हारको खोजी गरी भविष्यमा पार्टीलाई बलियो शक्तिको रूपमा पुनः उभ्याउने रणनीतिक प्रस्ताव आफूहरूले लिखित रूपमै बैठकमा पेश गर्ने तयारी गरेको पौडेलले बताए ।

यसअघि पूर्वमहामन्त्री सिंह र नेता शेखर कोइरालाले लिखित प्रस्ताव पेश गरिसकेका छन् । बैठकमा सभापति देउवासहित नेताहरू उपस्थित छन् । आज संघीय संसद चल्ने भएकोले दिउँसो १ बजेसम्म मात्रै बैठक चल्नेछ ।