भीमदत्तनगर– सन् १९९९ मा भारतको कस्मीरमा भारत–पाकिस्तान युद्ध हुँदा भारतीय गोर्खा सेनामा कार्यरत सञ्जु गुरुङ गोली लागेर घाइते भए । युद्धमा पेटमा दुईवटा गोली लागेर घाइते भएका गुरुङलाई निको हुन तीन महिना लाग्यो । अठार वर्ष भारतीय गोर्खा राइफलमा जागिर गरेर गुरुङ नेपाल फर्किए ।


ADVERTISEMENT


कञ्चनपुरको पुनर्वास नगरपालिका–७ त्रिभुवन बस्तीका ४८ वर्षीय गुरुङले पाँच वर्षयता आफ्नै गाउँमा रु एक करोडभन्दा बढीको लगानी गरेर होटल सञ्चालन गरिरहेका छन् । “घाइते भएर अस्वस्थ्य भएपछि भारत सरकारको सहयोगमा छ महिना उत्तराखण्डको देहारदुनमा होटल व्यवस्थापनको तालिम गरेँ ।” पुनर्वासमा होटल सञ्चालन गर्दै आएका गुरुङले भने– “आफ्नै गाउँमा लगानी गरेँ, गाउँलाई चिनाउन ।”


ADVERTISEMENT

# # #


होटल व्यवसायबाट मुनाफाभन्दा पनि आफू हुर्किएको गाउँ चिनाउन र गाउँका बेरोजगार युवालाई रोजगारी दिन होटल व्यवसाय थालेको गुरुङ बताउँछन् । “होटल व्यवसायको माध्यमबाट गाउँलाई चिनाउन धनगढी, महेन्द्रनगर छाडेर गाउँमै लगानी गरेको हुँ,” उनले भने ।

भारतीय गोर्खा सेनाबाट हवल्दार पदबाट अवकाश पाउनुभएका गुरुङले १० कट्ठा जमिन रु ३० लाखमा खरिद गरी जिल्लाको दक्षिणी भेगकै सुविधा सम्पन्न होटल सञ्चालन गरेका हुन् । “दश जनालाई रोजगारी दिएको छु ।” उनले भने– “होटल व्यवस्थापनको ज्ञान सिकाएर युवालाई लाभान्वित गराउँदै आएको गरेको छु ।” उनले तालीम प्रदान गरेका दुईजना हालै वैदेशिक रोजगारीका लागि जापान पुगेका छन् ।

होटलकै कारण बाह्य पर्यटक आउन थालेका गुरुङको भनाइ छ । “अमेरिका, जापान, बेलायतलगायत मुलुकबाट हालसम्म ११८ जना बाह्य पर्यटक यहाँ आएका छन्,” उनले भने– “पर्यटक यहाँ आउँदा धानखेती, उखुबारी, गाउँमा महिलाले काम गरेको देख्दा दंग पर्छन् र रमाउँछन् ।”

पुनर्वास नगरपालिकाका झण्डै २०० जना युवा भारतीय गोर्खा सेनामा कार्यरत रहेको गुरुङले बताए । “मेरो तीन पुस्ताले भारतीय सेनामै जागिर खायौँ ।” उनले भने– “अहिले पनि दुई जना भतिजा भारतीय सेनामै कार्यरत छन् ।”

अवकाश पाएको रकमबाट गुरुङले होटल सञ्चालन गरेको बताउँदै मासिक रु तीन लाखको कारोबार हुने गरेको बताए । “शुरुवातमा घाटा भएपनि अहिले नाफा नै छ ।” गुरुङले भने– “भारती सेनामा कार्यरत व्यक्ति यहाँ नियमित आउँछन् ।” घाइते भएकाले उनलाई अझै पनि भारतीय सेनाको सम्मान र संरक्षण रहेको छ ।

“कस्मिरमा चारपटकसम्म भिडन्तमा परेको थिए,” उनले विगत सम्झिँदै भने– “धेरै पटक सम्मान थापेँ ।” उनले गाउँका छोरी, चेलीको विवाह होटलमा गरे कुनै शुल्क लिनु हुन्न । “निःशुल्क होटल उपलब्ध गराउने गरेको छु,” उनले भने ।

जागिरमा छँदा सेनाको ‘कारगिल टाइगर हिल’ नामक पुरस्कारसमेत पाएका गुरुङ गाउँमा सयौँ युवा बेरोजगार भएको देख्दा चिन्तित छन् । आठवटा कटेज, दुईवटा सेमिनार हलसमेत रहेको उहाँको होटलमा स्थानीय परिकारको स्वाद लिन पाइन्छ । “भारतीय सेनाकै सहयोगमा गाउँमा दुई पटक निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेँ,” गुरुङले भने । शेरबहादुर सिंह रासस