काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेका आफ्ना शाखाहरूका लागि “इन्स्पायरिङ लिडरसिप एण्ड पर्फरमेन्स सेमिनारः अचिभिङ बजेट गोल्स एण्ड अपरेशनल सक्सेस” शीर्षकको सेमिनार सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत लगायत वरिष्ठ कार्यकारीहरूको उपस्थिति रहेको थियो। सेमिनारमा प्रदेश प्रमुख, क्लस्टर हेड, शाखा प्रबन्धक तथा अन्य कर्मचारीहरू सहभागी थिए।
सेमिनारमा गत आर्थिक वर्षको कार्यप्रगति समीक्षासँगै चालु वर्षका प्राथमिकता र लक्ष्यहरूमा गहन छलफल गरिएको थियो। केन्द्र र प्रदेशबीचको सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यसहित अन्तरक्रिया गरिएको बैंकले जनाएको छ।
यसअघि मधेश, बागमती र कोशी प्रदेशका लागि यस्तै खालको सेमिनार गरिसकिएको र त्यसको निरन्तरता स्वरूप गण्डकी, कर्णाली र सुदूरपश्चिम लक्षित सेमिनार गरिएको हो।
बैंकले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म कर्जा, निक्षेप र खुद ब्याज आम्दानीलगायतका प्रमुख सूचकहरूमा दोहोरो अंकको वृद्धि गरेको छ। यस अवधिमा बैंकको कर्जा प्रवाह ११.१५ प्रतिशतले वृद्धि भई १ खर्ब ७५ अर्ब १६ करोड पुगेको छ भने निक्षेप ११.६९ प्रतिशतले बढेर २ खर्ब १४ अर्ब ८ करोड पुगेको छ। खुद ब्याज आम्दानी ११.२० प्रतिशतले वृद्धि भई ६ अर्ब ३६ करोड पुगेको छ।
बैंकको सीडी रेसियो ८१.९१ प्रतिशत, सम्पत्ति प्रतिफल दर ०.५५ प्रतिशत र पुँजी प्रतिफल दर ५.८१ प्रतिशत रहेको छ।



























































