काठमाडौं–कांग्रेस सभापति शेरबहादुर देउवा पक्षीय सदस्यहरूले पार्टी अग्रिम महाधिवेशनमा जान नहुने भन्दै त्यसको विरोध गरेका छन् ।


ADVERTISEMENT


संस्थापनस्तर पक्षले संघीय संरचनाअनुसार रूपान्तरण हुने पार्टीका निकायलाई पूर्णता दिन अग्रिम महाधिवेशन माग गरिरहेका बेला देउवापक्षीय सदस्यहरूले यो अस्वीकार्य हुने धारणा अघि सार्दै सभापति देउवाको बचाउ गरेका हुन् ।


ADVERTISEMENT

# # #


कांग्रेसमा महासमिति बैठकबाट विधान संशोधन गर्ने तयारी छ । कांग्रेसको पार्टी संरचना अहिले ७५ जिल्ला, २ सय ४० निर्वाचन क्षेत्र र झन्डै ४ हजार संख्याका स्थानीय निकायमै आधारित छन् ।

राज्य संघीय संरचनामा जाँदा ७७ जिल्ला, १ सय ६५ प्रतिनिधिसभा र ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रअनुसारको पार्टी संरचनामा जानुपर्ने हुन्छ । विधान संशोधन गर्नासाथ नयाँ संरचनाअनुरूप पार्टी संरचना तयार गर्न १४ औं महाधिवेशनको प्रक्रिया अघि बढाउनुपर्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितले दबाब दिँदै आएका छन् ।

तर, संस्थापन पक्षका सदस्यले तत्कालका लागि तदर्थ समिति बनाउन उपयुक्त हुने भन्दै अग्रिम महाधिवेशनको विरोध गरेका हुन् । कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले लिखित रूपमै अग्रिम महाधिवेशनको माग बैठकमा प्रस्तुत गरेका थिए ।

‘अर्ली महाधिवेशनमा नलागौं,’ बिहीबारको बैठकमा देउवा पक्षीय नेता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘यही विषयलाई लिएर सभापतिलाई कमजोर बनाउन खोज्दा अन्ततः पार्टी कमजोर हुन्छ ।’ संसदीय दलको नेतामा उम्मेदवार बन्न नदिन धेरै तिरबाट कसरत हुँदासमेत सभापति नै अत्यधिक मतबाट विजयी भएको बताउँदै कार्कीले थपे, ‘अहिले पनि पार्टीभित्र सभापतिकै पक्षमा जनमत छ । सस्तो लोकप्रियताका लागि कोही पनि नलागी पार्टीलाई एक बनाउने दिशामा लागौं ।’