नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता कल्याण गुरुङसंग हिमालयपोष्टले समसामयिक राजनीतिका विषयमा गरेको कुराकानीको सम्पादित अंश :


ADVERTISEMENT


कांग्रेस यतिबेला प्रमुख प्रतिपक्षीका भूमिकामा छ । अबको दिनका कांग्रेसले आफूलाई कसरी अघि बढाउनुपर्छ ?


ADVERTISEMENT

# # #


नेपालको संविधान जारी गर्नमा नेपाली कांग्रेसको महत्वपूर्ण भूमिका छ । अहिलेको संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीचको शक्ति सन्तुलनको सिद्धान्तलाई अंगिकार गरेको छ । कांग्रेस कार्यपालिकामा नभए पनि अहिले व्यवस्थापिकाभित्र नेपाली कांग्रेस पनि छ । त्यहाँ हाम्रो थोरै संख्या भएपनि प्रभावकारी उपस्थिति रहन्छ । सरकारले गर्ने रचनात्मक काममा हामी सहयोग गछौँ । नयाँ नेपाल निर्माण गर्ने अभियान कार्यपालिकाले ल्यायो भने हामी त्यसमा सकारात्मक नै हुन्छौँ । तर गलत काम भएमा हामी चुप लागेर बस्दैनौँ । सक्रियतापूर्वक हामी जनताको पक्षमा आफ्ना आवाजहरु बुलन्द गछौँ ।

राजनीतिक आन्दोलन समाप्त भएर अब मुलुक स्थायित्वतर्फ गएको छ । जनताले विकास र समृद्धि चाहेका छन् । अब त्यसका लागि नेपाली कांग्रेसको भूमिका के हुन्छ ?

सरकारमा रहँदा पनि नेपाली कांग्रेस अरु जस्तो उग्र बोल्दैन । नेपाली कांग्रेस जे गर्छ त्यही बोल्छ र जे बोल्छ त्यही गर्छ । हामीले हिजो पनि भनेका छौँ कि सुशासनका लागि कुनैपनि सरकारलाई नेपाली कांग्रेसले सहयोग गर्छ । मुलुकमा अहिले स्थीर सरकार चाहिएको छ । २०४८ सालदेखि आजको मितिसम्म कुनैपनि सरकार पाँच वर्ष टिक्न सकेन । जसले गर्दा राजनीतिक स्थिरता मुलुकले पाउन सकेन । त्यसैले पाँच वर्ष स्थीर सरकार होस् भन्ने नेपाली जनताको चाहाना छ । त्यसैले यो पाँच वर्ष नेपाली कांग्रेस प्रतिपक्षमै बसेर सक्रिय भूमिका खेल्न चाहन्छ ।

जहाँसम्म विकास निर्माणका कुराहरु छन् । विकासलाई सबैभन्दा नकारात्मक असर पार्ने भनेको भ्रष्टाचार हो । त्यसैले यो मुलुकमा भ्रष्टाचार उन्मुलन गर्न आवश्यक छ । अहिलेको सरकारले यदि भ्रष्टाचार विरुद्ध आफ्नो अभियान तीव्र पार्छ, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता लागू गर्छ भने नेपाली कांग्रेस सकारात्मक रुपमा त्यसको स्वागत गर्छ । त्यस्तै यस अघिको नेपाली कांग्रेसको सरकारले पूर्वाधार निर्माण गरेको छ । त्यसको निरन्तरता दिने काम गर्नुपर्छ । अर्को महत्वपूर्ण र गम्भीर कुरा भनेको पर्यावरणको हो । अहिले काठमाडौँको नै कुरा गर्नुहुन्छ भने जनता स्वस्थ वातावरणको हकबाट वञ्चित भएका छन् । हामी चाहान्छौ काठमाडौँ उपत्यका मात्रै नभई देशभरी नै स्वच्छ, सफा वातावरण बनाउनका लागि हरसम्भव हामी सरकारलाई सहयोग गछौँ ।

सुरुवाती चरणमा नै सरकार जुन किसिमले अगाडि बढिरहेको छ । यसलाई कांग्रेसले कसरी हेरिरहेको छ ?

मुलतः अहिले सरकार भर्खरै गठन भएको छ । यसमा दुईभन्दा बढि दल छन्  । सय दिनको हनिमुन पिरियड दिने परम्परा छ । त्यसैले हामी सय दिनसम्म यो सरकारको बारेमा केही पनि भन्दैनौँ । गम्भीर गल्ती गरेमा मात्र हामी त्यसको विरोधमा उत्रिने हो । यदि सरकारले राम्रो काम गर्यो भने त्यसको हामी प्रशंसा मात्रै गछौँ । सरकारका गलत कामको हामी सदनमार्फत खबरदारी गर्छौँ । त्यतीले मात्र नभएमा हामी सडकमा पनि आउनुपर्छ । यदि हामी सडकमा आयौँ भने त्यो सरकारका लागि महंगो पर्नेछ ।

सरकार विस्तारका क्रममा यो सरकारले असन्तुष्ट पक्षलाई पनि समेटेर एक किसिमले शक्तिशाली सरकार बनेको संकेत गरेको छ । संविधान संशोधनको तयारी भइरहेको पनि हल्ला बाहिर आएको छ । यसलाई कांग्रेसले कुन रुपमा लिएको छ ?

यो सरकारको पहिलो दायित्व संविधान कार्यान्वयन गर्नु हो । संविधानमा लेखिएका मुलभूत अधिकारलाई यो सरकारले खोस्न पाउँदैन । वा यो सरकार पनि संविधानले बाँधिएको छ । संविधानको मर्यादाभित्र रहेर उसले काम गर्नुपर्छ । यदि अरु राजनीतिक दलहरुलाई सरकारमा समावेश गरेर अहिलेको संविधानलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने तर्फ यो सरकार लाग्छ भने त्यो सकारात्मक कुरा हो । यो सरकारको मुल दायित्व पनि हो । विश्वको कुनै पनि संविधान असंशोधनीय छैन । तर संविधान संशोधन गर्ने नाममा संविधानका मुलभूत कुराहरु, मौलिक अधिकारहरु, राज्य ब्यवस्थालाई नै उलंघन गर्ने काम हुन्छ भने हामी त्यसको कडा प्रतिवाद गछौँ ।

अब तपाईँको पार्टीतर्फ फर्किऔँ । हरेक आन्दोलनमा नेतृत्व गरेको दल अहिले खुम्चिएर सानो भएको छ । निर्वाचन सकिएको लामो समय भइसक्यो । अझै समीक्षा सकारात्मक रुपमा हुन सकेको छैन हैन ?

अब निर्वाचन लज्जास्पद नतिजा सबैलाई थाहा नै छ । यसका विविध कारणहरु होलान् । तर पार्टी विधान अनुसार नचल्दाखेरी यस्तो अवस्था आउने रहेछ भन्ने कुरा जनताको अभिमतले देखाएको छ । कार्य सम्पादन समिती बनाउँदा विधानले तोकेको संख्याभन्दा बढी बनाउनु, संसदीय समिती बनाउँदा आफ्ना मान्छेलाई खुसी पार्ने नाममा विधानले तोकेभन्दा बढी बनाउने निणर्य गर्दा नै त्यसको नकारात्मक असर जनतामा परेको हो । तर यो भयो भन्दैमा हामी हतोत्साहित हुनुपर्ने स्थिती छैन । गल्ती गर्नु ठूलो कुरा होइन तर गल्ती सुधार गर्न खोज्नु नै महानता हो । त्यस कारण नेपाली कांग्रेसले आफ्ना गल्तीहरुलाई सुधारेर अगाडि बढ्नुपर्छ ।

पार्टीमा राम्रो नेतृत्वको अभावले पार्टी राम्रोसंग चल्न सकेन भन्ने गरिन्छ । त्यो अभावलाई कसरी पूरा गर्ने ?

कतिपय मानिसहरु उमेरको आधारले नेतृत्व निर्धारण गर्नुपर्छ भन्छन् । कतिपयको धारणा एजेण्डाको आधारले निर्धारण गर्नुपर्छ भन्ने छ । म त भन्छु कि उमेर र एजेण्डाले मात्रै हुँदैन । प्रतिवद्धता पनि चाहिन्छ । पार्टी र लोकतन्त्रप्रति प्रतिवद्धता भएन भने त्यो उमेर वा एजेण्डाले केही काम गर्न सक्दैन । किनभने नेपाली कांग्रेस एक दिनमा बनेको पार्टी होइन । नेपाली कांग्रेस यहाँसम्म आउनका लागि लगभग सात दशकभन्दा बढी समय विभिन्न उमेर समूहले विभिन्न कालखण्डमा विभिन्न नेताहरुले नेतृत्व गरेका छन् । यस्तै नेपाली कांग्रेसमा लाखौँलाख कार्यकर्ताहरु जसले रगत पसिना चुहाउनु भएको छ, वर्षौ वर्षसम्म जेल बस्नु भएको छ । सयौँ सहिदहरु जसले प्रजातन्त्रको लागि नेपाली कांग्रेसको नाममा ज्यानको बाजी लगाउनु भएको छ । त्यसैले सबैको मर्म बुझ्ने किसिमको नेतृत्व चाहिन्छ । नेपाली कांग्रेसलाई अवसरको भूमी बनाउनका लागि नेतृत्वमा प्रतिवद्धता र काम गर्ने अठोट हुनु आवश्यक छ । नेतृत्वले अवसरको समान रुपले न्यायोचित वितरण गर्नुपर्छ ।

त्यस्तो कोही देख्नुहुन्छ ?

धेरै हुनुहुन्छ । अहिलेको नेतृत्वमा पनि पार्टीप्रति लगाव छ । उहाँहरु पनि वर्षौँवर्ष जेल बसेर आउनु भएको छ । तर अहिले के देखियो भने लामो समयसम्म उहाँहरुसंगै जेल बसेका आफ्ना साथीहरुलाई उहाँहरुले बिर्सिन थाल्नु भयो । आफूजस्तै प्रतिवद्ध साथीहरुलाई उहाँहरुले सम्मान गर्न छाड्नु भयो । अवसर दिन छाड्नुभयो । सीमित घेराभित्र नेतृत्व कहिले पनि कैद हुनुहुन्न । त्यसले नेतृत्वको उचाई बढाउँदैन । हामी के चाहान्छौँ भने अब आउने महाधिवेशनबाट पार्टीप्रति प्रतिवद्ध र इमान्दार नेतृत्व आउनुपर्छ । अब आउने महाधिवेशनबाट पार्टीले कामलाई प्राथमिकतामा राख्ने नेतृत्व पाओस् ।

यो अवस्थामा तपाईजस्तो जुझारु युवा नेताहरु जो भविष्यमा पार्टीको नेतृत्वको लागि आशावादी पनि हुनुहुन्छ । यो बेलामा तपाईहरुको भूमिका के हुन्छ ?

अहिलेको स्थितिमा हामीले गर्ने केही कामहरु छन् । जस्तै पहिलो काम विधान अनुसार पाटी नचल्दाखेरी विधान अनुसार पार्टी चल्नुपर्छ भनेर हामीले खबरदारी गर्यौँ । संसदीय समिति, कार्यसम्पादन समिति विधान विपरित भएको छ । यसको लागि हामीले केन्द्रिय समितिलाई झक्झकाउने काम हामीले गरेका छौँ । अर्कोकुरा पार्टीको लागि ज्यान दिएका सहिदका परिवार, वर्षौँ जेल बसेका नेता तथा पार्टीको लागि रगत पसिना चुहाएका कार्यकर्ताको सम्मान पार्टी नेतृत्वले गर्नैपर्छ । उहाँहरुले न्यायोचित अवसर पानु पर्छ भनेर हामी आवाज उठाउने गर्छौँ ।

यस्तै अहिले देशमा नयाँ संविधान आएको छ । जसले संघीयता अंगालेको छ । यसले स्थानीय तहलाई बढी अधिकार दिएको छ । अब कांग्रेसले पनि आफ्नो संरचना संघीय ढाँचामा लैजानुपर्छ । यो कुरामा हामी छलफल चलाइरहेका छौँ । अर्को मूल कुरा के हो भने राष्ट्रमा देखिएका समस्याहरुलाई, जनताले भोगिरहेका समस्याहरुलाई कसरी सदनमा कसरी जोडदार रुपले प्रस्तुत गर्ने ? जनताको प्रतिनिधिको रुपमा तथा प्रमुख प्रतिपक्षको रुपमा सरकारलाई कसरी सही मार्गमा डोर्याउने भनेर हामी छलफल चलाउँछौँ ।