काठमाडौं– सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले तीनै तहको सरकार मिलेर कानूनी र आर्थिक रुपमा पुस्तकालयलाई बलियो बनाउन आवश्यक रहेको बताए ।
१८ औं पुस्तकालय दिवसका अवसरमा शिक्षा मन्त्रालय अन्तर्गतको पुस्तकालय दिवस मूल समारोह समितिले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले देशभर बिभिन्न निकायले सञ्चालन गरेका पुस्तकालयलाई डिजिटलाइजेन गर्दै तीनै तहको सरकार मिलेर कानूनी र आर्थिक रुपमा पुस्तकालयलाई बलियो बनाउन आवश्यक रहेको बताएका हुन् ।
युवाहरूका लागि पुस्तकालय अनुसन्धान, नव प्रवर्तन र सीप विकासको प्रमुख स्थल बनेको उहाले बताए । उनले विशेष गरी ग्रामीण क्षेत्रका पुस्तकालयहरुले कम्प्युटर, इन्टरनेट, डिजिटल सामग्री र मोबाइल पुस्तकालय जस्ता सुविधाबाट सूचना पहुँचको खाडल घटाइरहेको धारणा राखे । त्यस्तै मन्त्री गुरुङले डिजिटल इकोनोमिलाई बढावा दिनका लागि आवश्यक निर्देशिका कार्यान्वयनमा रहेको बताए ।
सन २०३० सम्म नेपालको जिडिपीमा डिजिटल इकोनोमिको योगदान ३ प्रतिशत पुराउने लक्ष्यका साथ सरकार अघि बढेको उनको भनाइ छ । उनले सामाजिक प्लेटफर्म नेपालमा दर्ता नभए चल्न नदिनु भन्ने सर्वोच्चको आदेश कार्यान्वयनका लागि अन्तिम पटकका लागि सात दिनको समय तोकेको बताए ।
त्यसैगरि मन्त्री गुरुङले अवदेखी बैंक नोट वाहेक सबै चिजहरु हुलाक टिकट, स्मार्ट कार्डहरु लगाएत सुरक्षण मुद्रण केन्द्रमा छापिने जानकारी दिए । नेपाल सरकारले विसं २०६५ देखि प्रत्येक वर्ष भदौ १५ गते पुस्तकालय दिवस मनाउँदै आएको छ ।
तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा विसं १८६९ भदौ १५ गते पुस्तकालय स्थापना गर्ने कानुनमा लालमोहर लगाइएको सम्झनामा हरेक बर्ष भाद्र १५ गते यो दिवस मनाउने गरिएको हो ।



























































