काठमाडौं– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानीको वातावरण सिर्जना गर्नतर्फ सरकारले काम गरिरहेको बताए ।
ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को ४७ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उपप्रधानमन्त्री पौडेलले भने, “सरकार निजी क्षेत्रको आत्मविश्वास बढाउने र मुलुकमा लगानीको वातावरण सिर्जना गर्ने दिशामा काम गरिरहेको छ ।
उपप्रधानमन्त्री पौडेलले पर्यटन प्रवद्र्धन र राष्ट्रिय अर्थतन्त्रको विकासमा सरकार प्रतिबद्ध रहेको पनि जानकारी गराए । उहाँले आफूले सरकार सम्हाल्दा अर्थतन्त्रमा सम्पूर्ण सूचकहरु नकारात्मक भएको उल्लेख गर्दै भने, “अहिले अर्थतन्त्रका सबै सूचकहरुमा सकारात्मक परिवर्तन आएको छ । हिजो हामीले सरकार संहाल्दा अर्थतन्त्रका सूचकहरु नकारात्मक थिए ।”
त्यसैगरी उपप्रधानमन्त्री पौडेलले ‘भ्याट’ छुट दिनसक्ने अवस्थामा सरकार नरहेको स्पष्ट गरे । उनले भने, “राजस्वबाट साधारण खर्च धान्न नै अहिले मुस्किल छ । अहिले भ्याट छुटभन्दा पनि व्यवसाय प्रवद्र्धनका योजना कार्यक्रमहरु ल्याउनुहोस् । सरकार सहजीकरण गर्न तयार छ ।”
कार्यक्रममा ‘टान’का अध्यक्ष सागर पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार र पूर्वाधार विकासमा सरकारले जोड दिनुपर्ने बताए ।



























































