काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जना घाइते भएका छन्। नुवाकोटको विदुर नगरपालिका–१, धोबी खोलाको पुल नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवक घाइते भएका छन्।
बा.३५ प्र.८४३६ नम्बरको मोटरसाइकल त्रिशूली–ढुंगे सडकखण्ड हुँदै बाँद्रे तर्फ जाँदै गर्दा अनियन्त्रित भई आफैं दुर्घटनामा परेको हो। दुर्घटनामा मोटरसाइकल चालक, रौतहटका १७ वर्षीय सुजन चौधरीको टाउको र दुबै खुट्टामा चोट लागेको छ भने पछाडि सवार करीब १९–२० वर्षीय प्रमोद चौधरीको अवस्था सामान्य रहेको जनाइएको छ। घाइते दुवै जनालाई त्रिशूली अस्पतालमा उपचारका लागि पठाइएको छ।
त्यसैगरी धादिङमा स्कुटर र हात्ती गाडी ठोक्किँदा एक जना घाइते भएका छन् । पृथ्वी लोकमार्ग अन्तर्गत आठकिल्लाबाट एक्लेफाँटतर्फ जाँदै गरेको बा.प्र.०१–०२५ च १९६० नम्बरको हात्ती गाडीले विपरीत दिशाबाट आइरहेको बा.८२.९७६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा थाक्रे गाउँपालिका–१० निवासी १९ वर्षीय धावा तामाङ घाइते भएका छन्।
घाइते तामाङको दुबै खुट्टा र बायाँ हातमा चोट लागेको छ। उनलाई प्रारम्भिक उपचारका लागि महादेवबेशीस्थित थाक्रे पोलिक्लिनिकमा लगिएको थियो भने थप उपचारका लागि काठमाडौँको ट्रमा सेन्टर रेफर गरिएको छ।
पृथ्वी लोकमार्गमा चितवनबाट काठमाडौँतर्फ जाँदै गरेको प्र.२–०३–००१ ख ५४४७ नम्बरको डिब्बा गाडीको पछाडिको टायरमा स्कुटर ठोक्किँदा एक महिला घाइते भएकी छन्।
बा.प्र.०२–०४४ प २२३८ नम्बरको स्कुटर आफै अनियन्त्रित भई डिब्बा गाडीमा ठोक्किँदा गोरखा सिरानचोक गाउँपालिका–४ चोरकोटेकी २३/२४ वर्षीया प्रजिता श्रेष्ठ घाइते भएकी हुन्।
उनको बायाँ खुट्टामा चोट लागेको छ। उनलाई प्रारम्भिक उपचारपछि काठमाडौँस्थित अस्पतालमा थप उपचारको लागि लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



























































