काठमाडौं–नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न आइतबार बिहानैदेखि काठमाडौंको सानेपास्थित उनको निवासमा नेता कार्यकर्ताको ठूलो भीड लागेको छ ।


ADVERTISEMENT


बिहान दश बजेअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशसरण महत, मिनेन्द्र रिजाल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य दीपक गिरी, चिनकाजी श्रेष्ठ, देवन्द्र राज कँडेल, शंकर भण्डारी लगायतका नेताहरूले खड्का निवास सानेपा पुगेर श्रद्धाञ्जलि व्यक्त गरेको कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले जानकारी दिए ।


ADVERTISEMENT

# # #


गएराति दश बजेर ४५ मिनेट जाँदा पूर्व गृहमन्त्री समेत रहेका खड्काको शव जेट विमान मार्फत त्रिभुवन विमानस्थलमा ल्याइएको नेविसंघका पूर्व केन्द्रीय सदस्य युवराज खड्काले जानकारी दिए ।

दिउँसो १ बजेपछि मात्रै खड्कालाई पार्टी कार्यालय लगिने
चैत १६ गते बेलुका सवा ५ बजेतिर उपचारका क्रममा दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएका ६६ वर्षीय खड्काको पार्थिव शरीर आइतबार दिउँसो १ बजेपछि मात्रै सानेपास्थित पार्टी कार्यालय लगिने भएको छ।

खड्काका एक मात्रै छोरा अनुराग खड्का अध्ययनको सिलसिलामा लन्डनमा रहेको र उनी साढे १२ बजेतिर मात्रै काठमाडौं आइपुग्ने भएको हुँदा त्यसपछि मात्रै खड्काको शरीर अन्तिम श्रद्धाञ्जलिको लागि सानेपास्थित पार्टी कार्यालयमा लैजाने तयारी भएको छ।

कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काका अनुसार अनुरागले प्लेन मिस गरेको हुँदा उनी आउन ढिलाइ भएको हो। प्लेन मिस नगरेको भए अनुराग आइतबार बिहान ८ बजेसम्म काठमाडौं आइपुग्ने र बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म खुमबहादुर खड्काको शव अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय सानेपामा राख्ने जानकारी दिइएको थियो ।

केही ढिला भएपनि आइतबार साँझपख पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलिका लागि खड्काको शव राखेर शव यात्रासहित पशुपति आर्यघाटमा लगेर अन्तिम संस्कार गरिने जानकारी कांग्रेस नेताहरूले दिएका छन् । दाङका सभापति खड्काका अनुसार अन्तिम संस्कार गर्दा पूर्व गृहमन्त्री हुनुको नाताले सशस्त्र प्रहरीले सलामी दिने कुरा पनि रहेको भन्ने जानकारी दिए ।

‘खुमबहादुरले नै सशस्त्र प्रहरी जन्माउनु भएको हो, त्यसैले सशस्त्रले सलामी दिने तयारी गरेको भन्ने जानकारी दिइएको छ,’ सभापति खड्काले फोनमा जानकारी दिए । यसैबीच सशस्त्र प्रहरीले नै पार्टी कार्यालय सानेपानीदेखि सुरू हुने शव यात्राको सम्पूर्ण सुरक्षाको जिम्मेवारी लिएको भन्ने जानकारी दिइएको त्रिचन्द्र क्याम्पसका विद्यार्थी नेता उत्सव खड्काले फोनमा जानकारी दिए ।