काठमाडौं–बलिउड स्टार सलमान खान कालो हरिण काण्डमा दोषी साबित भएपछि उनलाई पाँच वर्ष जेल सजाय तोकिएको छ । अदालतले उनलाई वाइल्ड लाइफ प्रोटेक्सन एक्टअनुसार सजाय सुनाउँदै १० हजार जरिबाना पनि तोकेको छ ।


ADVERTISEMENT


दोषी साबित भएपछि सलमानलाई बिहीबार नै जोधपुर जेल पठाइएको छ । यद्यपि, सलमानका वकिलले जोधपुर ‘सेसन कोर्ट’मा जमानतका लागि याचिका दायर गरेका छन् । दायर याचिकामाथि शुक्रबार सुनुवाइ हुने बताइएको छ । कालो हरिणको सिकार गरेको प्रमाण नपुगेपछि फिल्मी स्टार सैफअली खान, अभिनेत्री नीलम, सोनाली, तब्बु र एक अन्य स्थानीय गरी पाँचजनालाई भने सफाइ दिइएको छ ।


ADVERTISEMENT

# # #


फैसलाका क्रममा सलमानका दुवै बहिनी अर्पिता र अलविरा पनि अदालतमा उपस्थित थिए । अदालतमा सजायबारे बहस भइरहेका वेला सलमानका वकिलले कमभन्दा कम सजाय सुनाउन अदालतलाई निवेदन गरेका थिए । तर, सरकारी वकिलले भने कम्तीमा ६ वर्षको सजायको माग गरेका थिए ।

बिहीबार तोकिएको फिल्मी स्टारहरूको पेसीलाई ध्यानमा राखेर जोधपुर प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको थियो । कालो हरिण सिकार काण्डमा सलमान खान यही वर्षको ४ जनवरीमा पनि जोधपुरको सिजेएम ग्रामीण कोर्टमा उपस्थित भएका थिए । उनी त्यसवेला सुटिङका क्रममा जोधपुरमा नै थिए ।

१९ वर्ष पुरानो कालो हरिण काण्डका सिलसिलामा सलमान अदालतमा उपस्थित हुँदै आएका थिए । जनवरीमा भएको सुनुवाइका क्रममा साक्षी पुनमचन्दको बयानको भिडियो अदालतमा पेस गरिएको थियो । त्यसबखत सलमान निकै तनावमा देखिएका थिए ।

जेलमा कडा सुरक्षा
अभिनेता सलमान खानलाई पाँच वर्ष जेल सजाय सुनाइएपछि पुलिसले उनलाई जोधपुर सेन्ट्रल जेलमा पु¥याएको छ । सलमानको जेलमै स्वास्थ्य परीक्षण गरिएको छ । जोधपुर जेलका डिआइजी विक्रम सिंहका अनुसार अदालतको फैसलालाई मध्यनजर गरेर सुरक्षाको व्यवस्था चार गुना बढाइएको छ । उनले यो पनि भनेका छन् कि ‘जेलमा अन्य कैदीलाई जुन खाना दिइन्छ, सलमानले पनि त्यही खाना खानेछन् ।’

बिस्नोई समाज खुसी
अभिनेता सलमानलाई अदालतको ढोकासम्म पुर्याउने समूह बिस्नोई समाजका नामले चिनिन्छ । यो समाज पर्यावरणप्रति निकै समर्पित मानिन्छ । यसको इतिहास हेर्ने हो भने यस समाजका सदस्यले रुख, विरुवा र पशुपक्षीको रक्षाका लागि ज्यानसमेत गुमाएका छन् ।

सलमानलाई सजाय तोकिनेबित्तिकै बिस्नोई समाजले खुसी व्यक्त गरेको छ । समाजका प्रदेश अध्यक्ष रामपाल भवादले प्रतिक्रिया दिएका छन्, ‘हामी अदालतको फैसलाको अध्ययन गर्छौं, त्यसपछि सफाइ पाएका आरोपिविरुद्ध पनि अपिल गर्छौं ।’

के थियो हरिण काण्ड ?
सन् १९९८ को कुरा हो । राजस्थानको जैसलमेरमा सुरज बडजात्याको फिल्म ‘हम साथ साथ हैँ’को सुटिङ भइरहेको थियो । सलमानलाई आरोप थियो कि १ अक्टोबर १९९८ को राति जोधपुर जिल्लाको काँकणी गाउँनजिकै सलमान खान र सोही फिल्मसँग सम्बद्ध कलाकारले त्यहाँ कालो हरिणको सिकार गरेका थिए । सलमानलाई अवैध हतियार राखेको र प्रयोग गरेको आरोप छ । उनलाई आम्र्स एक्टसम्बन्धी मुद्दा पनि दायर गरिएको थियो । आम्र्स एक्ट मुद्दाबाट भने गत जनवरी १८ मा उनलाई सफाइ दिइएको थियो ।

अन्योलमा फिल्म
सलमान खान फिल्म ‘रेस ३’को सुटिङका क्रममा छन् । रेमो डिसुजाले निर्देशन गरिरहेको फिल्मको सुटिङ सकिएको छैन । सय करोड बजेटको फिल्मका अभिनेता जेल परेपछि निर्माता अन्योलमा परेका छन् ।

त्यस्तै, अली अब्बासले निर्देशन गर्न लागेको फिल्म ‘भारत’मा पनि सलमान अनुबन्धित थिए । सलमान जमानतमा छुटेनन् भने यो फिल्मको भविष्य पनि अन्योलमा पर्नेछ । सलमानले नै लिड रोल गर्ने तय भएको ‘दबंग ३’को निर्माण पक्ष पनि अन्योलमा परेको छ ।

सन् २०१८ को अन्त्यबाट सो फिल्मको छायांकनको तयारी गरिएको थियो । सलमानको जेल सजायले ‘किक २’को भविष्य पनि अनिश्चित बनेको छ । आगामी अक्टोबरबाट सुरु हुने ‘बिग बोस १२’का लागि पनि सलमानको नाम तय गरिएको थियो । सोका लागि सलमानले ११ करोड पारिश्रमिक लिँदै आएका थिए ।