काठमाडौँ – उपप्रधान एवं शहरी बिकासमन्त्री प्रकाशमान सिंहले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानको निर्माण कार्यको स्थगलत निरीक्षण गरेका छन् ।
आइतबार कीर्तिपुरस्थीत क्रिकेट मैदानको स्थलगत निरिक्षण गर्दै उपप्रधान एवं शहरी बिकासमन्त्री सिंहले निर्माणको कार्य सन्तोषजनक रहेको बताए । निरिक्षणका क्रममा ठेकेदार कम्पनीका प्रतिनिधिहरुले प्याराफिट र फ्लड लाइट जडान कार्यको प्रगतिका बारेमा जानकारी गराएका थिए ।
सिंहले बर्षा र मैदानका लागि आवश्यक सामाग्री विदेशबाट ल्याउनुपरेकाले निर्माण कार्य सम्पन्न हुन केहि समय लागेको उल्लेख गरे । आगामी असोज २ गतेभित्र तीन वटा फ्लड लाइट जडान सम्पन्न हुने उनले बताए । उनले पहिलो चरणको कार्य सकिएपछि दोश्रो चरणमा १५ हजार सिट थप गर्ने गरि काम अघि बढाइने जानकारी दिए ।
तोकिएको समयमा निर्माण नसकेकाले निर्माण कम्पनीलाई जरिवाना गरेको र जरिवाना गरेपछि निरन्तर कार्य भइरहेको उनले बताए ।
कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप १० हजार क्षमताको प्यारापिट निर्माण र फ्लड लाइट जडान कार्यको २०८१ फागुनमा सम्झौता भएको थियो ।



























































