काठमाडौं–सार्वजनिक खरिद पुनरवलोकन समितिले केही समयअघि परराष्ट्र मन्त्रालयको हवाई टिकट खरिद सम्झौताअन्तर्गत ९ करोड रुपैयाँको टेन्डर प्रक्रियामा अनियमितता भएको ठहर गर्दै सम्झौता रद्द गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


समिति अध्यक्ष शंकरप्रसाद पाण्डे तथा सदस्यहरू लवराज श्रेष्ठ र प्रकाश पौडेलले संयुक्त रूपमा टेन्डर रद्द गर्दै प्रक्रियामा सहभागी परराष्ट्रका पदाधिकारीमाथि समेत कानुनअनुसार कारवाही गर्न सरकारसमक्ष सिफारिस गरेको छ । समिति सदस्य श्रेष्ठले गहिरो छानबिनपछि टेन्डरमा अनियमितता भएको पाइएपछि रद्द गरिएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


समितिको निर्णयअनुसार परराष्ट्रले ९ करोडमा दिएको टेन्डर प्रक्रिया रद्द गरेर फेरि नयाँ प्रक्रिया थाल्न लाग्दा सर्वोच्च अदालतले नयाँ प्रक्रिया सुरु गर्न रोकेपछि टेन्डर प्रक्रिया अवरुद्ध भएको छ । टेन्डर पाएको सिलिङक ट्राभल्स एन्ड टुृर्स प्रालि पुनरवलोकन समितिको निर्णयविरुद्ध सर्वोच्च गएलगत्तै सर्वोच्चले टेन्डर प्रक्रिया यथास्थितिमा राख्न अन्तरिम आदेश दिएकाले सबै प्रक्रिया रोकिएको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव भरतराज पौडेलले समितिको निर्णयअनुसार नयाँ टेन्डर प्रक्रिया अघि बढाउन खोजिए पनि फेरि सर्वोच्चले यथास्थितिमा राख्न अन्तरिम आदेश दिएकाले अवरुद्ध भएको जानकारी दिए । परराष्ट्रले सुरुमा खुला प्रतिस्पर्धाका आधारमा मन्त्रालयका कर्मचारीका लागि विभिन्न देश जान आवश्यक हवाई टिकट खरिद गर्न ९ करोडको टेन्डर आह्वान गरेको थियो। गत २७ पुसमा जारी गरेको आशयपत्रका आधारमा टेन्डरमा सहभागी दुई कम्पनीमध्ये परराष्ट्रले सिलिङक ट्राभल्ससँग १० माघमा सम्झौता गरेको थियो ।

मन्त्रालयले टेन्डर आह्वान गरेपछि सिलिङक ट्राभल्स र सुरुचि ट्राभल्स एन्ड टुर्स प्रालि दुई कम्पनी मात्र टेन्डरमा सहभागी थिए । समितिले भने परराष्ट्रले टेन्डरमा सामेल सिलिङक र सुरुचि ट्राभल्स दुवै कम्पनी टेन्डर पाउन र प्रक्रियामा सहभागी हुनसमेत अयोग्य र प्रभावग्राही नभएको ठहर गरेको छ ।

प्रभावग्राही नहुँदा नहुँदै पनि परराष्ट्रका केही अधिकारीले आर्थिक चलखेल गर्दै सिलिङकलाई टेन्डर दिइएको विभिन्न तथ्यले देखाएका छन् । समितिका अनुसार इभ्यालुएसन क्राइटेरियाको १ र २ नम्बर बुँदामा आर्थिक क्षमतासम्बन्धी मापदण्ड पूरा नगरेका दुवै कम्पनी टेन्डर पाउन अयोग्य थिए । समितिको छानबिनमा ९ करोडमा टेन्डर पाएको सिलिङक ट्राभल्सले सबै सेक्टरको एकतर्फी तथा दुईतर्फी भाडादर जथाभावी पेस गरेको पाइएको थियो ।

सिलिङकले पेस गरेको नक्कली भाडादर परराष्ट्रले स्वीकृत गरी अनियमितता गरेको ठहर समितिले गरेको छ । बोलपत्रमा सिलिङकले काठमाडौं–इस्लामाबाद र काठमाडौं–क्वालालम्पुरको दुईतर्फी भाडा १ अमेरिकी डलर राखेको छ । सिलिङकले काठमाडौं–आबुधाबीको दुईतर्फी भाडा १५ अमेरिकी डलर, काठमाडौं–बैंककको १३ डलर र काठमाडौं–क्यानबेराको २३ डलर राखेको छ भने एकतर्फी भाडा भने ३ सयदेखि १६ सय डलर राखेको छ । – आजको अन्नपूर्ण पोस्टबाट