काठमाडौं–प्रधानमन्त्री केपी ओलीले सरकारमा ‘एकलौटी’ निर्णय लिन थालेको भन्दै असन्तुष्ट बनेका माओवादी केन्द्रका मन्त्रीहरूले आज पार्टी अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डको निवासमा छलफल भएको हो ।


ADVERTISEMENT


एकैपटक ३० सचिव सरुवालगायत निर्णयमा प्रधानमन्त्रीले सरकारमा सहभागी दल र मन्त्रीसँग सामान्य छलफलसमेत नगरेको माओवादी मन्त्रीहरुको गुनासो थियो । यही गुनासो लिएर उनीहरुले पार्टी अध्यक्ष प्रचण्डलाई भेट गरेका हुन् । अन्य मन्त्रालयसँग भएका अधिकार कटौती गरेर प्रधानमन्त्री कार्यलय मातहत लगिएकोमा पनि माओवादी मन्त्रीहरु असन्तुष्ट छन् ।


ADVERTISEMENT

# # #


यस्तो छलफलमा सहभागी एक मन्त्रीका अनुसार उनीहरुले प्रचण्डसमक्ष प्रधानमन्त्री ओलीको ‘कार्यशैली ठीक’ नभएको र यस विषयमा गंम्भीर कुरा गर्न प्रचण्डलाई सुझाव दिएका छन् । छलफलमा सहभागी एक मन्त्रीले स्रोतसँगको कुराकानीमा भने, ‘हामीले प्रधानमन्त्रीज्यूको रवैया ठीक भएन, तपाईं एकपटक गंभीर रुपमा कुरा गर्नुस् भनेर प्रचण्डलाई भन्यौँ ।’

प्रधानमन्त्रीज्यूले माओवादीका मात्रै होयन, एमालेकै तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई पनि चक्मा दिएको प्रचण्डलाई जानकारी गराएको ती मन्त्रीले बताए । माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्री विहान आठ बजे प्रचण्डकहाँ गएका थिए । करिव एक घण्टा छलफल भएको थियो ।

प्रधानमन्त्रीले सामान्य प्रशासन मन्त्रालयका सचिव शंकर कोइराला र मुख्यसचिव रेग्मीलाई राखेर सचिव सरुवाको निर्णय गरेका थिए । चैत्र २० गते भएको यो निर्णयमा कोही पनि मन्त्री जानकार थिएनन् । एमालेकै मन्त्रीहरु पनि प्रधानमन्त्री ओलीको यो निर्णयप्रति असन्तुष्ट छन् । गृह मन्त्रालयबाट राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयमातहत लैजाने निर्णयमा पनि प्रधानमन्त्रीले एकलौटी गरेको माओवादीको गुनासो गर्दै आएको थियो ।