रामचन्द्र पाण्डे/काठमाडौँ– रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा काठमाडौँ गोल्डेन्सविरुद्ध एक विकेटको रोमाञ्चक जित हात पार्दै आयोजक शहर टिम चौराहा धनगढी फाइनल प्रवेश गरेको छ ।


ADVERTISEMENT


टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर १ सय २७ रन बनायो ।


ADVERTISEMENT

# # #


उसका लागि कस्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३८ रनको योगदान दिए। उनको पारीमा ३ चौका र २ छक्का सामेल थिए। त्यस्तै प्रारम्भिक ब्याट्सम्यान अमित श्रेष्ठले सम्सद शेखको हातबाट रनआउट हुनुअघि ३६ रन बनाए । पुस्प थापाले १६ तथा भुपेन्द्र थापाले १० रन जोड्नु बाहेक काठमाडौँका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। उसका ३ जना ब्याट्सम्यान खाता नै नखोली आउट भएका थिए।

सुरुवाती अवस्थामै विकेट गुमाएपनि ज्ञानेन्द्र र अमितले काठमाडौँको इनिङ्ग समालेका थिए। तर यी दुबै ब्याट्सम्यान पेबेलियन फर्किएपछि काठमाडौँको इनिङ्ग ध्वस्त भएको हो। ९६ रन हुँदा आफ्नो चौथो विकेट गुमाएको काठमाडौँले बाँकि २६ रन जोड्दा ५ खेलाडीलाई गुमाएको थियो।

उता घरेलु टोली धनगढीका लागि सोमपाल कामी र ललित भण्डारीले २/२ तथा सुनिल धमला र सम्सद शेख र रोहन मुस्तफाले समान एक एक विकेट हात पारे।

धनगढीले १९.५ ओभरमा ९ विकेट गुमाएर लक्ष्य भेटाएको हो । १२८ रनको लक्ष्य पच्छ्याएको धनगढीको पनि राम्रो सुरुवात हुन सकेन । एक रन जोड्दा ओपनर अस्फाक अहमतलाई गुमाएको धनगढीका लागि सुनिल धमला र रोहन मुस्ताफाले पारी सम्हाल्ने प्रयत्न गरेका थिए । तर ४.३ ओभरमा सुनिल धमला(१३) र ५.५ ओभरमा राजु रिजाल(६) रनमा आउट हुँदा टिम दबाबमा आएको थियो ।

तर रोहन मस्ताफाले बनाएको २० बलमा ३३ रन र ३९ बलमा शंकर रानाको २८ रन नै धनगढीको जितको आधार बन्यो । क्रिजमा सेट भइसकेका ब्याट्समेन शंकर राना र योगेन्द्र सिंह कार्की लगातार आउट भएपछि खेल काठमाडौँको पक्षमा आएको थियो ।

अन्तिम दुई बलमा ६ रन चाहिएको अवस्थामा धनगढीको ९ विकेट पतन भइसकेको थियो । तर संसाद शेखले विजयी छक्का प्रहार गर्दै आफ्नो टिमलाई फाइनल प्रवेश गरेका हुन् ।

यता काठमाडौँका लागि सन्नी पटेल, रासिद खान र साहव आलमले समान २/२ विकेट लिए । यस्तै ललित राजवंशीको नाममा एक विकेट रह्यो । खेलको म्यान अफ द म्याच शंकर राना चुनिए ।

पराजित भएको काठमाडौँ फाइनल प्रवेशका लागि आजै महेन्द्रनगर र अत्तरियाबीच हुने इलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।