काठमाडौं– नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको चूनौतिको सामना गर्दै एमालेले मुलुकलाई सही दिशा दिने बताए ।
संविधान दिवसको अवसरमा शुक्रबार एमाले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पोखरेलले जेनजी आन्दोलनका क्रममा कार्यालय डढेर खरानी भएपनि इच्छाशक्ति नमरेको भन्दै एमालेले नै अहिलेको चूनौतिको सामना गर्दै मुलुकलाई सही दिशा दिने बताएका हुन् ।
एमाले शान्त तलाउमा डुङ्गा चलाएजस्तो गरि नभइ प्रत्येक कालखण्डमा चूनौतिको सामना गरेर अहिलेको अवस्थामा आएको उनले बताए । उनले अहिले देखिएको चूनौतिलाई पनि टाउकोमा टेकेर एमाले अघि बढ्ने उद्घोष गरे ।
पोखरेलले समयमा नै ध्यान दिन नसके प्राप्त गरेका उपलव्धीहरु खोसिन सक्ने भन्दै यसबारे सचेत हुन जरुरी रहेको बताए । त्यस्तै एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका नाममा राजनीतिक दलका कार्यालय माथि गरिएको आक्रमण लोकतन्त्रलाई कमजोर पार्ने सुनियोजित षडयन्त्र भएको टिप्पणी गरे ।
राजनीतिक दलका नेता कार्यकर्तालाई छानिछानी उनीहरूका निजी सम्पत्तिमा क्षति पु¥याउने काम लोकतन्त्र विरोधी क्रियाकलाप भएको उनले बताए । नवयुवाको नाममा घुसेकाहरूले लोकतन्त्र समाप्त गर्ने योजना अनुसार गरेको काम गरेको उनको दाबी छ ।


























































