सुर्खेत– कर्णाली प्रदेशका सांसदहरुको औपचारिक पोसाक निर्धारण गरिएको छ । संसद बैठक सुरु भएको करिब दुई महिनापछि पोसाक निर्धारण गरिएको हो । संसद्को कार्यव्यवस्था परामर्श समितिले लामो छलफलपछि पोेसाकको टुङ्गो लगाएको हो । पुरुष सांसद र महिला सांसदका लागि पोसाकमा कोट तोकिएको छ । त्यस्तै, पुरुष सांसदका लागि कालो भादगाउँले टोपी अनिवार्य गरिएको छ ।


ADVERTISEMENT


पुरुष सांसदका लागि कोट र भादगाउँले कालो टोपी अनिवार्य गरिएको हो । महिला सांसदका लागि कोट निर्धारण गरिएको छ भने ढाकाको धोती वा सारी विकल्पका रूपमा तोकिएको छ । पुरुष सांसदको हकमा दौरा सुरुवाल र पाइन्टलाई पनि विकल्पमा दिइएको छ ।


ADVERTISEMENT

# # #


यस्तै महिला सांसदको हकमा चोली र पाइन्ट विकल्पका रूपमा तोकिएको छ । समितिले निर्धारण गरेको पोसाकका आधारमा सांसदहरू संसद् बैठकमा सहभागी हुनुपर्नेछ । कोटको रङ भने खैरो र हल्का उज्यालो हुने संसद् सचिवालयले जनाएको छ । उक्त पोसाक कार्यव्यवस्था परामर्श समितिले टुंगो लगाएको सभामुख राजबहादुर शाहीले जानकारी दिए ।

‘सबै सांसदका लागि कोट तोकेका छौं, पुरुष सांसदका लागि भने टोपी अनिवार्य छ ।’ उनले भने, ‘महिलाका लागि सारी र धोती तथा चोलोमा विकल्प छ । पुरुषले पनि दौरासुरुवाल र पाइन्ट विकल्पमा प्रयोग गर्न सक्नेछन् ।’

त्यसैगरी, यस अघि प्रदेशसभाको लोगो पनि टुंगो लागेको छ । कार्यव्यवस्था परामर्श समितिले लोगो टुंग्याएको हो । लोगोमा महिला र पुरुषका हातले संयुक्त रूपमा कर्णाली प्रदेशको नक्सालाई माथि उचालको, बीच भागमा नेपालको झण्डा फहराएको र कर्णाली प्रदेशसभा लेखिएको हुने छ ।

कार्यव्यवस्था समितिले टुंगो लगाएको पोसाक र लोगो अब कार्यान्वयनमा आउने सभामुख शाहीले जानकारी दिए ।