गोरखा – पृथ्वीराजमार्ग पहिरोका कारण अबरुद्ध भएपछि केही दिनदेखि आँबुखैरेनी गोरखा सडक व्यस्त भएको छ । जवाङ खोलामा खसेको सुक्खा पहिरोले राजमार्गको मुग्लिन मलेखु खण्ड अबरुद्ध भएपछि दमौली, पोखरा, बेँसिसहर, बागलुङदेखिका गाडी गोरखाको रुट भएर गन्तव्यतर्फ जान थालेका हुन् ।


ADVERTISEMENT


कतिपय गाडी मध्यपहाडी लोकमार्ग हुँदै आँबुखैरेनीबाट गोरखा बजार, आरुघाट, धादिङबेँसी हुँदै मलेखु निस्कने गरेका छन् । गत शुक्रबार तुइनखोलामा खसेको पहिरोले मुग्लिन नारायणगढ सडकखण्ड अबरुद्ध भएदेखि पृथ्वीराजमार्ग भएर गुड्ने गाडी पनि गोरखा, आरुघाट, धादिङबेँसी हुँदै मलेखु निस्कन थालेका हुन् ।


ADVERTISEMENT

# # #


“पृथ्वीराज मार्गमा समस्या भएको धेरै दिन भइसक्यो । त्यसैले हिजोआज पोखरा, बागलुङ, म्याग्दी, मुस्ताङ, लमजुङका गाडी मध्यपहाडी लोकमार्ग हँुदै मलेखु निस्कन थालेका छन्”, गोरखा दरौँदी यातायात प्रालिका अध्यक्ष दीपक बोहोरा भन्छन्, “विशेषगरी माइक्रोबस, कार, जीप, भ्यान, बाइक चाहीँ आँबुखैरेनीबाट गोरखा बजार, आरुघाट, धादिङबेँसी हुँदै मलेखु निस्कन्छन् ।”

दैनिक सयौँको सङ्ख्यामा सवारीसाधन मध्यपहाडी राजमार्ग तथा गोरखा बजार हुँदै आवतजावत गर्ने गरेको उनले बताए । गोरखा, आरुघाट हुँदै घुमेर मलेखु झर्दा दुईघण्टा समय थप लागे पनि यात्रुहरू गन्तव्यमा पुग्न सम्भव भएको उनले जानकारी दिए ।

ग्रामीण सडकबाट सदरमुकाम आउने गाडीले भरिभराउ हुने गोरखा बजार अहिले लमजुङ, तनहूँ, पोखरादेखि आएका गाडीले थप व्यस्त हुन थालेका स्थानीय बताउँछन् । “यतिबेला यसै पनि दसैँका कारण बजारमा गाडीको चाप धेरै हुन्छ । झन् बाहिर जिल्लाबाटसमेत गाडी आउन थालेपछि भीडभाड बढेको छ”, हरमटारीचोकका व्यापारी भरत भट्ट भन्छन्, “पोखरा, बेँसीसहर, दमौलीबाट आएका गाडी गोरखा बजारहुँदै हिँडेको देख्दा अनौठो पनि लागिरहेको छ ।”

मुग्लिन नारायणगढको तुइनखोलामा पहिरो झरेपछि गत शुक्रबारदेखि सो सडकमा सवारी गुड्न अवरोध भइरहेको छ । त्यस्तै सोमबार राति जवाङखोलामा झरेको सुक्खा पहिरोले मुग्लिन मलेखु सडकखण्डमा आज बिहानैदेखि सवारीसाधन चल्न सकेका छैनन् । रासस