काठमाडौं– देशकै सबैभन्दा ठूलो सुपरमार्केट भाटभटेनीबाट दशैं, तिहार र छठको अवसर पारेर सपिङ गर्दा टाटाको ‘पन्च ईभी’ जित्न सकिने भएको छ। यो चाडपर्वको विशेष अवसरमा भाटभटेनीबाट किनमेल गर्ने ग्राहकले टाटाको ‘पन्च ईभी कार जित्न सक्ने मौका प्राप्त गर्ने भएका हुन् ।
टाटाको बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङ र भाटभटेनीबीच सहकार्य गरी भाटभटेनीका ग्राहकहरूलाई चाडपर्वको अवसरमा सामान किन्दा कार जित्ने अवसर प्रदान गर्ने व्यवस्था मिलाइएको हो । ‘भाटभटनीबाट किनमेल गरौं, टाटा पन्च ईभी जितौं भन्ने नारा सहित आएको यो स्कीमको लाभ पुषको १६ गतेसम्म भाटभटेनीमा सामान किनमेल गर्ने ग्राहकले लिनसक्ने छन् ।
कम्पनीका अनुसार यस योजनामा सहभागी हुनका लागि ग्राहकले कम्तीमा २५ सय रुपैयाँ बराबरको सामान भाटभटेनीबाट खरिद गर्नुपर्नेछ । खरिदको समय ग्राहकले प्राप्त गरेको बिलको आधारमा प्रणालीमा नाम दर्ता हुनेछ । त्यसपछि भाटभटेनीले लक्की ड्रमार्फत एक जना विजेताको चयन गरी पन्च ईभी उपहारस्वरूप प्रदान गर्ने भाटभटेनीले जानकारी दिएको छ ।
यस योजनाअन्तर्गत देशभरका सबै भाटभटेनीका शाखाबाट २५ सय वा बढी सामान खरिद गर्ने ग्राहकहरूले स्वतः यो योजनामा सहभागी हुन पाउनेछन् र नेपाली बजारमा निकै लोकप्रियता कमाउन सफल टाटा पन्च डट ईभी जित्न सक्ने छन्। दशैं(तिहारको किनमेलको चटारोमा एकै ठाउँबाट आवश्यक सम्पूर्ण सामान किन्न सकिने र कार पनि जित्ने अवसर प्राप्त हुँदा ग्राहक समेत उत्साहित हुने अपेक्षा भाटभटेनीको छ ।
साथै, भाटभटेनीबाट सामान किन्दा मात्रै होइन नेपाल पेबाट क्यूआर गरी सामानको मूल्य तिर्दा पनि एक जना भाग्यशाली ग्राहकले टाटाको पन्च ईभी कार जित्न सक्ने भाटभटेनीले बताएको छ । र, नेपाल पेबाटै क्यूआर गरी सामानको मूल्य तिर्ने १६ जना भाटभटेनीका ग्राहकले टीभीएसको स्कुटर पनि जित्न सक्ने बताइएको छ ।



























































