काठमाडौं–सडकको काम गर्न हिउँद उपयुक्त समय हो । तर, सडक विभाग अन्तरगतका अधिकांश आयोजनामा काम रोकिएको छ । कारण हो, बजेट अभाव । सडक विभागलाई चालु आर्थिक वर्षमा झण्डै ३५ अर्ब बराबरको बजेट अभाव भएको छ ।


ADVERTISEMENT


निर्माण कम्पनीले बिल पेश गरेको ८ अर्ब बराबरको भुक्तानी दिन सकेको छैन । गरिसकेको कामको पनि भुक्तानी नदिएको भन्दै व्यवसायीहरु बिरोधमा छन् । त्यसैकारण ठेकेदारहरुले काम रोकेका छन् । रकम नभएपछि धेरै आयोजनामा काम गर्न नसकिएको बताउँछन् नेपाल निर्माण व्यवसायी महासंघका कार्यबाहक अध्यक्ष बिष्णुभाइ महर्जन ।


ADVERTISEMENT

# # #


मागअनुसार बजेट निकासा नभएपछि असारसम्म हुने कामको भुक्तानी कसरी दिने भन्नेमा विभागमा अन्योलमा छ । बजेट अभावकै कारण धेरै सडक तथा पुल आयोजनाहरुका काम पनि रोकिएको विभागका प्रवक्ता मुक्ति गौतम बताउँछन् । ‘काम हुने समयमै आयोजनाहरु बजेट अभावमा अल्झिए । पेश भएका बिलको भुक्तनी दिन सकिएन’ गौतम भन्छन्, ‘यो समस्या सल्टोयाउन भन्ने अन्योलमा छौं ।’

विभागका महानिर्देशक गोपाल सिग्देलले पछिल्लो पटक अर्थमन्त्रालयले ४ अर्ब मात्रै भुक्तानी दिएको जानकारी दिए । तर, अझै विभागलाई यसवर्षका लागि कम ३५ अर्ब रकम आवश्यक पर्ने उनले बताए । ‘हामीले मन्त्रालयमा यसको जानकारी दिइसकेकका छौं,’ सिग्देल भन्छन्, ‘निर्माणको सिजनमै आयोजनामा प्रभाव गर्ने गरी बजेट रोक्दा पछि अनेकन समस्या आउनसक्छन् ।’

विभागले अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमक्ष आयोजनाहरु बजेट अभावका कारण रोकिएको भन्दै तत्काल आवश्यक व्यवस्थापन गरिदिन माग गर्दै पटक–पटक आग्रह गरेको छ । तर, सरकारी ढुकुटी नै समस्यामा रहेको भन्दै अर्थले रकम दिन आनाकानी गरिरहेको विभागको गुनासो छ ।

भौतिक पूर्वाधारमन्त्री रघुबीर महासेठले पनि निर्माण कम्पनीले काम गरेपछिको भुक्तानी रोक्न नमिल्ने भन्दै अर्थमन्त्रीलाई अनुरोध गरेका छन् । ‘मैले अर्थमन्त्रीसँग नै भेटेर भएको कामको भुक्तानी नरोकिदिन भनेको छु । अर्थमन्त्री त्यसमा सकारात्मक हुनुहुन्छ,’ महासेठले भने, ‘ठेकेदारले भुक्तानी नपाए काम अघि बढाउन सक्दैन । आयोजनालाई समयमै सम्पन्न गर्न यो जरुरी छ ।’

विभागकाअनुसार अहिले मुख्यतया पुल आयोजनाहरु बजेटको चरम अभाव छ । स्थानीय पुलमा काम भएकै साढे ५ अर्बभन्दा बढीको भुक्तानी दिन नसकिएको प्रवक्ता गौतमले बताए । ‘राजमार्गका रणीतिक पुलका शिर्षकमा बजेछ । तर, स्थानीय पुलहरुमा बढी समस्या आयो’ गौतमले भने, ‘स्थानीय पुलमा अब २० प्रतिशत मात्रै बजेट बाँकी छ । तर, बिल भने ५ अर्ब बढीको आइसक्यो । ‘

अहिले विभागअन्तरगत देशभर झण्डै २ हजारभन्दा बढी पुल बन्दैछन् । यो वर्ष पुलका लागि ३ अर्ब मात्रै बजेट आएको थियो । अहिले झण्डै ७५ अर्ब भन्दा बढीको पुलहरुको निर्माण भइरहेको छ । पुल आयोजनाहरुमा वर्षमा १६ अर्बभन्दा बढी रकम आवश्यक हुन्छ ।

सडक विभागले भुक्तनी दिन नसकेपछि दैनिकजोसो विभागमा रकम माग्दै पुग्ने व्यवसायीको ताँती छ । यसले गर्दा दैनिक कार्यसम्पादनमा नै समस्या परेको विभागका अधिकारीहरुको गुनासो छ । विभागले यो वर्ष ७४ अर्ब बरारको बजेट पाएको थियो । जसमा वैदेशिक महाशाखा अन्तरगत खर्च हुन नकसकेको ८ अर्ब रुपैयाँ विभागले अर्थमन्त्रालयलाई फिर्ता दिइसकेको छ ।

तर, अन्य शिर्षकमा अर्थले आवश्यक थप ३५ देखि ४० अर्ब बजेट निकासा नदिए या वर्ष सडक र पुल आयोजनाको प्रगतिमा प्रभाव गर्ने प्रवक्ता गौतम बताउँछन् ।