काठमाडौ– सभामुख कृष्णबहादुर महरा र संयुक्त राष्ट्रसंघको राजनीतिक मामिला विभागका सहायक महासचिव मिरोस्ल्याभ जेन्काबीच भेटवार्ता भएको छ । सभामुख महरा र सहायक महासचिव मिरोस्ल्याभ जेन्काबीच सोमबार संसद सचिवालय सिंहदरबारमा भेटवार्ता भएको हो ।


ADVERTISEMENT


भेटवार्तामा नेपालको दिगो विकास लक्ष्यका लागि भएका प्रयासहरु र संयुक्त राष्ट्रसंघले निर्वाह गर्दै आएको भूमिकाका विषयमा चर्चा गरिएको थियो ।


ADVERTISEMENT

# # #


भेटका अवसरमा सभामुख महराले नेपालमा संघीयता कार्यान्वयनको अभ्यास शुरु भएको भन्दै संविधान कार्यान्वयनका लागि ऐन, कानूनहरु निर्माण गर्नु अहिलेको प्रमुख कार्यभार भएको बताए ।

शान्ति प्रक्रियाका धेरै कामहरु सम्पन्न भइसकेको भन्दै सभामुख महराले अब देश आर्थिक समृद्धि र विकासतर्फ पूरै केन्द्रित भएको बताए ।

तीन चरणका निर्वाचनमार्फत् स्थानीय, प्रदेश र संघमा नयाँ सरकार निर्माण भइसकेको बताउँदै सभामुख महराले ५ वर्षभित्र जनताको जीवनस्तर बदल्ने गरी सरकार विकास र समृद्धितर्फ केन्द्रित रहेको बताए ।

उक्त भेटमा सहायक महासचिव जेन्काले दिगो शान्ति र विकासका लागि संयुक्त राष्ट्रसंघ सदैव सहकार्यका लागि तयार रहेको बताए । उनले नेपालको शान्तिप्रक्रिया सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै जेन्काले संयुक्त राष्ट्रसंघले मध्यस्थता गर्न पाएकोमा खुसी व्यक्त पनि गरे ।