काठमाडौं–नेकपा एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पौने १० बजेदेखि बैठक बसिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।


ADVERTISEMENT


वैशाख ९ गते पार्टी एकता घोषणा गर्ने बताएका एमाले र माओवादीबीच प्रतिनिधित्वलगायत विषयमा कुरा टुंगिन बाँकी छ । बैठकमा एकतामा प्रतिनिधित्वको आधार, नयाँ पार्टीको चुनाव चिन्ह र विधानमा जनयुद्ध शब्द राख्ने–नराख्ने लगायतका विषयमा छलफल हुने बताइएको छ।


ADVERTISEMENT

# # #


यसअघि सोमबार एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच यी विषयमा एक्लाएक्लै छलफल भएको थियो । दुई अध्यक्षबीच हिजो लामो छलफल भएकाले आजको बैठकले मिल्न बाँकी विषय टुंग्याउने अपेक्षा गरिएको छ ।

एमाले र माओवादी एकतामा दुईटा कुरामा फरक धारणा रहेका छन् । माओवादीले नयाँ पार्टीको स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समितिमा समानताका आधारमा दुबै पार्टीको प्रतिनिधित्व हुनु पर्ने बताएको छ ।

यो कुरा एमालेले मानेको छैन ।

दुबै दलका नेता सम्मिलित कार्यदलले नयाँ पार्टीको केन्द्रीय समिति ३०० सदस्यीय हुने लगभग टुंगो लगाएको छ । एमालेका अहिले २०९ जना केन्द्रीय समिति सदस्य छन् । त्यसमा बाँकी ९० जना माओवादीबाट थपेर केन्द्रीय समिति बनाउने एमाले नेताहरूको प्रस्ताव छ ।

प्रदेश र प्रतिनिधि सभामा ६० र ४० प्रतिशतको हाराहारीमा उम्मेदवार बनाएका र राष्ट्रिय सभामा ७० र ३० प्रतिशत उम्मेदवारी दिएकाले केन्द्रीय समितिमा समानताको सिद्धान्त लागु गर्न नसकिने एमालेको अडान छ ।

यसमा माओवादी सहमत छैन । यसरी एकता गर्दा पार्टी समर्पण गरेको जस्तो देखिने र त्यसले भविष्यमा पनि पार्टी मजबुद नहुने भएकाले दुबैको आत्मसम्मान हुने गरी एकता गरौं भन्ने माओवादी तर्क छ ।