दुनै,डोल्पा– जाडो छल्न बेँसी झरेका भोट क्षेत्रका स्थानीयवासी धमाधम घर फर्कन थालेका छन् । गर्मीयाम सुरु भएसँगै करिब सात महिनाको अस्थायी बसाइँपछि उनीहरु थातथलो फर्किन लागेका हुन् ।


ADVERTISEMENT


बर्सेनि उपल्लो डोल्पाका स्थानीयवासी कात्तिक पहिलो सातादेखि मङ्सिर पहिलो साताभित्रै पशुचौपायासहित घरमा ताल्चा लगाएर परिवारसहित तल्लो डोल्पा झर्ने गर्छन् । उपल्लो डोल्पामा भारी हिमपात हुने गरेका कारण जाडो छल्न उनीहरु बसाइँ सर्ने गरेका हुन् ।


ADVERTISEMENT

# # #


“हिउँदे बसाइँ एकदमै कष्टकर हुने भएकाले गाउँ नै शून्य पारेर उपल्लो डोल्पाली बेँसी झर्ने गर्छौं,” शे–फोक्सुन्डो गाउँपालिकाका स्थानीयवासी निमा लामाले भने । सो समयमा कोही जाडो कटाउन काठमाडौँ समेत जाने गर्छन् । आर्थिक अवस्था कमजोर भएका सर्वसाधारण तल्लो डोल्पाको दुनै, त्रिपुराकोट, पहाडालगायतका स्थानमा बसाइँ सर्ने गरेका लामा बताउँछन् ।

“अब गर्मी सुरु भयो, उपल्लो भेगमा दैनिकी सहज हुने भएकाले घर फर्कन थालेका छौँ,” उनले भने।

जाडो छल्न झरेको समयमा सिपवाला महिलाले फुर्सदको समयको उपयोग गर्दै राडीपाखी, झोलालगायत सामग्री निर्माण गर्छन् । पुरुषले भने उपल्लो डोल्पाबाट ल्याएको जिम्बुलाई मकै, खुर्सानी, चामललगायतका खाद्यवस्तुसँग साटेर चौँरीलाई बोकाएर घर लैजाने गर्छन् ।

उपल्लो डोल्पाका बासिन्दा खाद्य सामग्री तल्लो डोल्पाबाटै लैजाने गरेका छन् । उपल्लो डोल्पामा छार्का, मुकोट, साल्दाङ, भिजेर धो, तिन्जे, फोक्सुन्डोलगायतका विकट तथा अत्यधिक जाडो हुने बस्ती रहेका छन् । जाडोको समयमा विद्यालय, स्वास्थ्य चौकी, कृषि सेवा केन्द्रलगायत सम्पूर्ण सरकारी कार्यालय समेत त्यहाँ बन्द हुने गर्छन् । रासस