काठमाडौ–राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरको अस्वस्थताका कारण सो दलको बैठक समेत प्रभावित भएको छ ।स्वास्थ्य उपचारका लागि दिल्ली गएका संयोजक ठाकुर स्वादेश फर्किन ढिलाई हुने भएपछि बैशाख ८ गतेका लागि तय गरिएको बैठक प्रभावित भएको हो ।


ADVERTISEMENT


राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले बैशाख ८ गते बस्ने राजनीतिक समितिको बैठक स्थगन हुने जानकारी दिँदै ठाकुर फर्किएपछि बैठकको मिति टुंगो लाग्ने बताए ।


ADVERTISEMENT

# # #


संयोजक ठाकुरको मुटुमा ‘ब्लड ब्लकेज’ भएपछि तीनवटा स्टेन राखिएको छ । उपचारका लागि केही समय अस्पतालमा नै बस्नुपर्ने भएकाले बैठक अनिश्चित भएको बताइएको छ ।

बैठक प्रभावित भएपछि राजपा संसदीय दलको नेता चयन, प्रदेश २ मा चयन गर्न बाँकी रहेका राज्यमन्त्री र महाधिवेशनको मिति तोक्ने एजेण्डा प्रभावित हुन्छ ।

प्रमुख पाँच पार्टीमध्ये चारवटा दलले संसदीय दलको नेता चयन गरिसकेपनि राजपा नेपालले अझै चयन गर्न सकेको छैन ।

त्यस्तै, प्रदेश २ मा मन्त्री चयन गरेपनि हालसम्म राज्यमन्त्री चयन गर्न सकेको छैन । राजपा नेपालले अब तीनजना राज्यमन्त्री चयन गर्नुपर्ने हुन्छ । त्यही राजनीतिक समितिको बैठकबाट चयन गर्ने एजेण्डा थियो ।

राजपा नेपाल गठन भएको एक वर्षभित्र महाधिवेशन गरिसक्नु पर्ने निर्णय गरेको थियो । पार्टी गठन भएको आज ठिक एक वर्ष पुगेको छ । बैशाख ७ गते छवटा मधेश केन्द्रीत दल मिलेर राजपा नेपाल गठन भएको थियो । महाधिवेशनको मिति तय गर्ने एजेण्डा पनि राजनीतिक समितिको बैठकका लागि तयार थियो ।