काठमाडौँ – ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया क्षेत्र छनोटमा लगातार दोस्रो जितसहित नेपाल समूह विजेताका रुपमा सुपर सिक्समा प्रवेश गरेको छ । शुक्रबार नेपालले जापानलाई ५ विकेटले हराएको हो ।


ADVERTISEMENT


ओमानको अल अमेरतस्थित क्रकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै जित हात पारेको हो । यससँगै नेपालले समूह चरणमा २ अंकसहित सुपर सिक्समा पुगेको छ ।


ADVERTISEMENT

# # #


नेपालको जितका लागि ओपनर आशिफ शेखले सर्वाधिक ३८ रन बनाए । आउट हुनुअघि उनले २१ बलमा १ चौका र ४ छक्का प्रहार गरे । यस्तै अर्का ओपनर कुशल भुर्तेलले २१ बलमा ३ चौकाको मदतमा २१ रन बनाए । यस्तै गुल्शन झाले २० बलमा १ चौका र २ छक्कासहित नटआउट २८ रन जोड्दा दीपेन्द्रसिंह ऐरीले १४ बलमा १ चौकाको सहयोगमा नटआउट १४ रन जोडे भने कप्तान रोहित पौडेल १९ बलमा १ चौकाको प्रहार गर्दै १८ रनमा आउट भए ।

बलिङतर्फ जापानका सोमा स्ल्याटरले २ विकेट लिए भने रियो साकुरानो–थोमस, सबाओरिस रविचन्द्रन र डेक्लान सुजुकीले समान १–१ विकेट लिए ।

यसअघि ब्याटिङतर्फ जापानका लागि कप्तान केन्डेल काडोवाकी फ्लेमिङले शानदार ब्याटिङ गरे । नेपाली बलरका लागि टाउको दुखाई बनेका उनले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै इसाम रहमानले २५ बलमा १ चौका र २ छक्काको मदतमा ३१ रन बनाए । रहमान र फ्लेमिङले दोस्रो विकेटका लागि ५१ बलमा ८६ रनको साझेदारी गरेपछि नेपाल दबाबमा आएको थियो । तर, सोमपाल कामीले रहमानको विकेट लिएपछि नेपालले पुनरागमन गर्यो । १२।४ ओभरमा १ विकेटको क्षतिमा ९६ रन बनाएको जापानले त्यसपछिका २६ बलमा ५ विकेट गुमाउँदा १२ रन मात्रै बनाउन सक्यो । जापानका लागि बेन्जामिन इटो–डेभिसले १७ रन बनाउँदा अन्यले दोहोरो अंक छुन सकेनन् ।

बलिङतर्फ नेपालका गुल्शन झा र सन्दीप लामिछानेले समान २–२ विकेट लिए । त्यसक्रममा उनीहरुले समान ४–४ ओभरमा क्रमशः २० र २५ रन दिए । यस्तै सोमपाल कामी र नन्दन यादवले समान १–१ विकेट हात पारे ।

सुपर सिक्समा नेपालले आइतबार युएईरको सामना गर्नेछ । ९ राष्ट्र सहभागी प्रतियोगितामा नेपालले पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो । प्रतियोगिताबाट कुवेत र मलेसिया बाहिरिसकेका छन् । यस्तै नेपालसँगै जापान तथा समूह ‘ए’बाट युएई, कतार सुपर सिक्समा प्रवेश गरेका छन् भने समूह ‘सी’ समूहकबाट ओमान, पीएनजी र सामोआमध्ये २ टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।

सुपर सिक्समा उत्कृष्ट ३ टोली अर्को वर्ष भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपमा छनोट हुनेछन् ।