काठमाडौं – देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। शनिबार मात्र मोटरसाइकल र स्कार्पियोको ठक्करबाट चार जनाको मृत्यु भएको हो।


ADVERTISEMENT


काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–११, कपन पैयुटारस्थित सडकमा बा.८१ प ७३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २५ वर्षीय पासाङ निङमा शेर्पा गम्भीर घाइते भएका थिए। केएमसी अस्पताल, सिनामंगलमा उपचारको क्रममा उनको मृत्यु भएको हो। उनी सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ घर भइ काठमाडौंको कपनमा बस्दै आएका थिए।


ADVERTISEMENT

# # #


खोटाङको खोटेहाङ गाउँपालिका–४, रोक्सिङमा पनि शनिबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा २६ वर्षीय प्रदीप बस्नेतको मृत्यु भएको छ। उनी सोही गाउँपालिका–६ का बासिन्दा हुन्। दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

त्यसैगरी मोरङको विराटनगर महानगरपालिका–१४ स्थित सडकमा भएको अर्को दुर्घटनामा ३० वर्षीय पैदलयात्री पूर्ण गुरुङको ज्यान गएको छ। को.२९ प ८७२६ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएका गुरुङको न्यूरो अस्पताल, विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पोखरा महानगरपालिका–२५, हेम्जास्थित सडकमा ग.३ च ९८१६ नम्बरको स्कार्पियोको ठक्करबाट पैदलयात्री ६० वर्षीय आश बहादुर विक गम्भीर घाइते भएका थिए। फिस्टेल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो। स्कार्पियो चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

चारवटै दुर्घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।