काठमाडौं–इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली डेयरडेभिल्सले अर्को एक हार व्यहोरेको छ । सोमबार राति घरेलु मैदानमा दिल्ली, किंग्स इलाभेन पन्जाबसँग ४ रनले पराजित भएको हो । दिल्लीमाथि रोमान्चक जित हात पारेको पन्जाब १० अंकसहित आईपीएलको शीर्ष स्थानमा छ ।


ADVERTISEMENT


दिल्लीलाई अन्तिम बलमा जितका लागि पाँच रन आवश्यक थियो । स्ट्राइकमा रहेका श्रेयस अय्यरले छक्का प्रहार गर्न अघि बढे तर मैदानमा रहेका आरोन फिन्चलाई पार गर्न सकेन । यसका साथ किंग्स इलाभेन पन्जाबले यो रोमान्चक प्रतिस्पर्धामा चार रनको जित हात पार्यो । किंग्स इलाभेनका बलर अंकित राजपुत प्लेयर अफ दि म्याच भए । उनले दिल्लीलाई २३ रन दिएर महत्वपूर्ण दुई विकेट झारेका थिए ।


ADVERTISEMENT

# # #


क्रिस गेल नखेलेको खेलमा पन्जाबले दिल्लीलाई १४४ रनको लक्ष्य दिएको थियो । जवाफमा दिल्ली ८ विकेट गुमाउँदा १३९ रनमा समेटियो । दिल्लीका लागि श्रेयस ऐय्यरले सर्वाधिक ५७ रन बनाएका थिए । राहुल टेवाटियाले २४, पृथ्वी शाले २२ र ग्लेन म्याक्सवेलले १२ रन बनाए । अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् । कप्तान गौतम गाम्भीर ४ रन बनाएर आउट भए ।

बलिङतर्फ पन्जाबका लागि अंकित राजपुत, एन्ड्र्यू टाई र मुजिब उर रहमानले समान २–२ विकेट लिए । तर, २३ रन दिएर २ विकेट झारेका राजपुत प्लेयर अफ दि म्याच भए ।

यसअघि फिरोज शाह कोटला मैदानमा टस हारेर व्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनाएको थियो । दिल्लीको शानदार बलिङको सामना गरेको पन्जाबका कुनै पनि सदस्यले उच्च स्कोरको रन बनाउन सकेका थिएनन् । करण नायरले सर्वाधिक ३४ रन बनाएका थिए । डेभिड मिलरले २६, लोकेस राहुलले २३, मायंक अग्रवालले २१ र युवराज सिंह १४ रनमा आउट भए । कप्तान रविचन्द्रन आश्विन ६ रनमा आउट हुँदा आरोन फिन्च केबल २ रनमा पबेलियन फर्किए ।

बलिङतर्फ दिल्लीका लियाम प्लंकेटले सर्वाधिक ३ विकेट लिए । अवेश खान र ट्रेन्ट बोल्टले २–२ विकेट लिए । दिल्लीले २० लाख भारुमा अनुबन्ध गरेको नेपाली बलर सन्दिप लामिछाने भने यस म्याचमा पनि खेल्न पाएनन् ।