काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को स्थगित निर्वाचन वैशाख २२ गते हुने पक्का भएको छ । एन्फा निर्वाचनबारे उच्च अदालत पाटनले यसअघि दिएको अन्तरिम आदेश बुधबार खारेज गरेपछि स्थगित भएको निर्वाचन वैशाख २२ गते हुने पक्का भएको हो ।


ADVERTISEMENT


उच्च अदालत पाटनले गत चैत ७ गते एन्फाको १६ औं साधारणसभा तथा कार्यसमिति निर्वाचन नगर्न अन्तरिम आदेश दिएपछि गत चैत १४ गते तय भएको निर्वाचन स्थगित भएको थियो । तर, एन्फाको निर्वाचन समितिले सोमबार अदालतमा परेको मुद्दाको किनारा लागेमा वैशाख २२ गते एन्फाको १६ औं साधारणसभा तथा कार्यसमिति निर्वाचन गर्ने निर्णय गरेको थियो ।
एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले अन्तरिम आदेश खारेज गरीपाउँ भनी दिएको रिटमा उच्च अदालतले बुधबार फैसला गर्दै अन्तरिम आदेश खारेज गरेको जानकारी दिए । अन्तरिम आदेश खारेज भएसँगै निर्वाचन तोकिएको समयमा हुने समेत अध्यक्ष श्रेष्ठले बताए । श्रेष्ठले भने, “अन्तरिम आदेश खारेज भएको छ । अब हामीलाई निर्वाचनको लागि बाटो खुलेको छ । निर्वाचन वैशाख २२ मै हुन्छ ।”


ADVERTISEMENT

# # #


यसअघिको अन्तरिम आदेश खारेज गरीपाउँ भन्दै एन्फाले दायर गरेको रिटमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगाना र न्यायाधीश बिष्णुप्रसाद कोइरालाको संयुक्त इजलासले अन्तरिम आदेश खारेज गर्ने फैसला गरेको हो ।

यसअघि भक्तपुर जिल्ला फुटबल संघका तत्कालिन अध्यक्ष गौतम सुजुख र मकवानपुर जिल्ला फुटबल संघका तत्कालिन उपाध्यक्ष मनिष श्रेष्ठले आफ्नो जिल्लामा निर्वाचन नभएकाले केन्द्रीय कार्यसमितिको निर्वाचन हुँदा आफ्नो प्रतिनिधित्व नभएको भन्दै मुद्दा दर्ता गराएपछि उच्च अदालत पाटनका न्यायाधीश राजकुमार वनको एकल इजलासले निर्वाचन नगराउन आन्तरिम आदेश दिएको थियो ।

अदालतको अन्तरिम आदेशपछि एन्फाले मकवानपुरमा चैत २३ र भक्तपुरमा चैत २७ मा निर्वाचन गरिसकेको छ  । उक्त निर्वाचनबाट मकवानपुरमा श्रेष्ठ सदस्यमा चुनिए भने भक्तपुरमा सुजखु अध्यक्ष चुनिएका छन्  । मकवानपुर र भक्तपुरको विवाद समाधान भैसके पनि एन्फाले नयाँ निर्वाचन मिति तय नगरेपछि खेलाडी संघले निर्वाचन गर्दै फुटबल गतिविधि अघि बढाउन माग गरेको हो ।

विभिन्न कारणले पटक पटक सर्दै आएको एन्फाको निर्वाचनमा संस्थापन पक्ष र परिवर्तन पक्ष चुनावी मैदानमा रहेका छन् । अध्यक्षको लागि संस्थापनबाट मणि कुँवर र परिवर्तन पक्षबाट कर्मा्छिरीङ शेर्पाले उम्मेदवारी दिएका छन् ।