काठमाडौं – नेपालको प्रतिव्यक्ति आय बढेर १ हजार ४ डलर प्रतिवर्ष पुग्ने भएको छ । अघिल्लो वर्ष प्रतिव्यक्ति आय ८६२ अमेरिकी डलर रहेकोमा बढेर पहिलोपटक चार अंकको पुग्ने प्रक्ष्येपण केन्द्रीय तथ्यांक विभागले गरेको हो ।


ADVERTISEMENT


केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको कूल गार्हस्थ्य उत्पादन ३० खर्ब ७ अर्ब ६० करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । विभागका अनुसार चालू आवको कूल गार्हस्थ्य उत्पादन अघिल्लो वर्षको तुलनामा ४ खर्ब ५ अर्ब बढी हो । यसर्थ चालू आवमा आर्थिक वृद्धिदर ५.८९ प्रतिशत हुने विभागको अनुमान छ ।


ADVERTISEMENT

# # #


विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार कृषितर्फको वृद्धिदर २ दशमलव ८२ प्रतिशत रहने अनुमान छ भने गैरकृषितर्फको वृद्धिदर भने ७ दशमलव १ प्रतिशतले बढ्ने आँकलन गरिएको छ । त्यसैगरी सेवातर्फ ६.६२ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान छ ।

केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको देशको आर्थिक परिदृष्यमा कृषि उत्पादनमा कमी भएको र लोडसेडिङ हटेको समाचार आएपनि लगानी बढ्न नसकेको उल्लेख छ । यही आधारमा आर्थिक वृद्धिदर खुम्चिने प्रक्षेपण गरिएको हो ।

यसअवधिमा धान र दलहन बालीको उत्पादन कम हुँदा आर्थिक वृद्धिमा असर परेको विभागको दावी छ । विभागले प्रक्षेपण गरेको वृद्धिदर अर्थमन्त्री डा। युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षामार्फत गरेको प्रक्षेपणभन्दा पनि कम हो । बजेट ल्याउने बेलामा सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरे पनि सोलाई घटाएर ६ प्रतिशत कायम गरेको थियो ।