काठमाडौं–माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको परिवर्तनमा शिक्षकहरुको भूमिका महत्वपूर्ण र निर्णायक भएको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार बिहान विश्व शिक्षक संगठनका अध्यक्ष मफुजा खानमसहितको टोलीसँगको भेटमा प्रचण्डले नेपालमा भएका निरंकुश व्यवस्था विरुद्धका विभिन्न आन्दोलन र १० वर्षे जनयुद्धमा नेपाली शिक्षकहरुको ठूलो त्याग र बलिदान भएको बताए ।


ADVERTISEMENT

# # #


प्रचण्डले अब चाहिँ नेपाल राजनीतिक परिवर्तनबाट आर्थिक परिवर्तनको बाटो तर्फ लम्किएको बताए ।

विश्व शिक्षक संगठनले आगामी सेप्टेम्बर महिनामा नेपालमा १९ औं विश्व सम्मेलन गर्ने भएको छ । सम्मेलनको तयारी बैठकको सिलसिलामा नेपालमा भेला भएका विश्व शिक्षक संगठनका प्रतिनिधिहरुले प्रचण्डलाई भेट गरेका हुन् ।

प्रचण्डले विश्व शिक्षक संगठनको सम्मेलन नेपालमा गर्ने कुराले आफूलाई अत्यन्त खुसी लागेको बताए । आफू शिक्षक पृष्ठभूमिबाट आएको उल्लेख गर्दै प्रचण्डले भने, ‘हाम्रो पार्टीका अधिकांश नेताहरु पनि शिक्षक पृष्ठभूमिबाटै आउनुभएको छ ।’

विश्व शिक्षक संगठनकी अध्यक्ष मफुजा खानमले नेपालमा शिक्षकहरुको संघर्ष दुनियाँका लागि गौरवको विषय भएको बताइन् ।

खानमले प्रचण्डलाई भनिन्, ‘हामी सम्पूर्ण शिक्षकहरुका लागि तपाई आदर्श व्यक्तित्व र प्रेरणाको स्रोत हो ।’

साम्राज्यवाद विरोधी शिक्षकहरुको उक्त संगठनका ६ जना प्रतिनिधि भेटघाटमा सहभागी थिए । जसमा १ जना नेपालका, ३ जना भारतका र २ जना बंगलादेशका प्रतिनिधि रहेका थिए ।

भेटमा एकीकृत अखिल नेपाल शिक्षक संगठनका शिक्षकहरुको पनि प्रतिनिधित्व थियो । एकीकृत अखिल नेपाल शिक्षक संगठन विश्व शिक्षक संगठनमा आवद्ध शिक्षक संगठन हो ।