काठमाडौँ – तिहारको तेस्रो दिन सोमबार घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिई कुकुर तिहार मनाइएको छ ।
कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको हो । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।
यसैबीच नेपाली सेनाको श्री भैरव वाहन गुल्ममा कुकुर तिहारको दिन कुकुर पूजा गरिएको छ । सेनाको भक्तपुरको सानो थिमिस्थित भैरव बहान गुल्ममा ‘सैनिक डग प्रदर्शनी’ मा रेस्क्यु कलाका साथै गुल्ममा रहेका कुकुरहरुको पूजा गरिएको थियो ।
सेनाले उमेर र काम गर्ने क्षमताका आधारमा छनोट गरी डग केनलबाट शान्ति मिसनमा कुकुर पठाउने गरेको छ । एउटा स्वस्थ कुकुरले आठ वर्षको उमेरसम्म पूर्णरुपमा काम गर्न सक्ने बताइएको छ ।



























































