काठमाडौं–नेपाली कांग्रेसले आगामी जेठमा जिल्ला सभापतिहरुको भेला र साउनमा महासमिति बैठक आयोजना गर्ने तयारी गरेको छ । चुनावी समीक्षा र आगामी रणनीति बनाउन जारी बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले अविलम्ब महासमिति बैठक बोलाउन नेतृत्वलाई दबाव दिँदै आएका छन् ।


ADVERTISEMENT


गत चैत ९ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा शनिबार महामन्त्री शशांक कोइरालाले लिखित राजनीतिक प्रतिवेदन पेश गर्दैछन् । सो प्रतिवेदनमा आगामी जेठमा जिल्ला सभापतिहरुको भेला र साउनमा महासमिति बैठक बोलाउने उल्लेख छ ।


ADVERTISEMENT

# # #


सभापति शेरबहादुर देउवाले महासमिति बैठक असोज वा कात्तिकतिर गर्ने तयारीमा थिए । तर, रामचन्द्र पौडेल समूहले त्यसको विरोध गर्दै जतिसक्यो छिटो महासमिति बैठक बोलाउन माग गरेको थियो । जारी केन्द्रीय समिति बैठकमा पनि छिटो महासमिति बैठक बोलाउनुपर्ने धेरैको राय थियो ।

त्यसैले महामन्त्री कोइरालाले साउनमा महासमिति बैठक बस्ने प्रस्ताव तयार पारेका हुन् । शीर्ष नेताहरु बसेर तयार पारिएको प्रारम्भिक खाकालाई महामन्त्री कोइरालाले अन्तिम रुप दिएका थिए । महामन्त्री कोइरालाको प्रतिवेदनलाई केन्द्रीय समिति बैठकमा छलफल र सुझावसहित पारित गर्ने तयारी छ ।

महामन्त्री कोइरालाको प्रतिवेदनमा केन्द्रीय समितिमा हालसम्म उठेका विषय, चुनावको समीक्षा र आगामी कार्यक्रम समेटिएको छ । तर निर्वाचनमा हारको स्पष्ट कारण भने नखुलाइएको स्रोतले बतायो ।

त्यसपछि शेरबहादुर देउवाले हालसम्म उठेका प्रश्नको जवाफ दिएपछि बैठक समापन गर्ने तयारी छ । तर आजैको बैठकमा पदाधिकारीको प्रस्ताव भने नआउने स्रोतले बतायो । त्यसका लागि केही दिनपछि अर्को बैठक बोलाउने देउवाको तयारी छ ।

विधानअनुसार महाधिवेशन भएको दुई महिनाभित्र रिक्त पदाधिकारी मनोनित गरिसक्नु पर्ने भए पनि हालसम्म चयन हुन सकेका छैनन् ।