काठमाडौं–लिओनेल मेसीको ह्याट्रिकको मदतले डेपोर्टिभोलाई ४–२ ले हराउँदै बार्सिलोनाले २५ औं पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ। मेसीले लुइस स्वारेजको पासमा तीनै गोल गरेका थिए ।


ADVERTISEMENT


खेलको सातौं मिनेटमा बार्सिलोनाले फिलिप कोउटिन्होको गोलबाट अग्रता लिएको थियो। ३८ औं मिनेटमा मेसीले बार्सिलोनाको अग्रता दोब्बर पारे। त्यसको दुई मिनेटमा लुकास पेरेजले डेपोर्टिभोको लागि गोल फर्काउँदै खेल २–१ मा ल्याए।


ADVERTISEMENT

# # #


पहिलो हाफमा २–१ ले अगाडि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गर्‍यो । दोस्रो हाफको ६४ औं मिनेटमा एम्रे कोलाकले गोल गर्दै खेल डेपोर्टिभोलाई बराबरीमा ल्याए ।

मेसीले खेलको ८२ औं मिनेटमा सुआरेजसँग वान–टु पास खेल्दै गोल गरेपछि बार्सिलोनाले पुनः ३–२ को अग्रता लियो। त्यसको तीन मिनेटपछि सुआरेजकै पासमा गोल गर्दै मेसीले बार्सिलोनाको जित सुनिश्चित गरे।

बार्सिलोनाले चार खेल अगावै उपाधि जित्ने क्रममा ३४ खेलबाट ८६ अंक जोडेको छ। उसलाई पछ्याइरहेको एथ्लेटिको मड्रिडले ३५ खेलबाट ७५ अंक जोडेको छ। रियल मड्रिड भने ३४ खेलबाट ७१ अंकमा सीमित भएको छ। अबका बाँकी ३ खेल एथ्लेटिकोले जित्दा पनि बार्सिलोनासँग रहेको ११ अंकको दुरी भेट्न असम्भव भएसँगै बार्सिलोनाले चार खेल अगावै उपाधि उचालेको हो ।

मेस्सीले ह्याट्रिकसँगै जारी सिजनमा लिग गोल संख्या ३२ पुर्‍याएका छन्। उनले युरोपमा सर्वाधिक गोल गर्ने सूचिमा मोहमद सलाहलाई १ गोलले पछाडि पारे । यससँगै ला लिगमा लगातार ७ सिजन ३० भन्दा बढी गोल गर्ने मेसी पहिलो खेलाडी पनि बनेका छन्।