काठमाडौँ – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले दल दर्ताका लागि निर्वाचनमा आयोगमा निवदेन दिएको छ ।
कम्युनिस्ट पार्टी नेपाल नाम राखेर विप्लव नेतृत्वको पार्टीले दल दर्ताका लागि मंगलबार आयोगमा निवदेन दर्ता गरेको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताका लागि निवदेन दिइएको प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिर्ए । जनताको आफ्नो अधिकार र मुद्दाको कुरालाई जनताले आफैँ फैसला गर्ने लोकतान्त्रिक विधि निर्वाचन भएकाले आगामी निर्वाचनमा सहभागी हुन लागेको उनले बताए ।
उनले जेनजी आन्दोलनपछि बनेको सरकारमाथि ठूलो चुनौती र प्रश्न रहेको भन्दै सरकारले तोकेको निर्वाचनलाई सम्पन्न गर्न जटिलता देखिएको धारणा राखे । यस्तो अवस्थामा राष्ट्रिय राजनीतिमा नयाँ ढंगको समझदारी आवश्यक रहेको उनले बताए । विश्वकर्माले पार्टीले दल दर्ताको प्रक्रिया अघि बढेसंगै निर्वाचनलाई सफल बनाउन आयोगलाई पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।
सो क्रममा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ प्रतिस्पर्धाको माध्यमबाट निर्वाचित भएर मुलुकको सुशासन गर्ने पद्धति लोकतन्त्रको सुन्दर पक्ष भएको बताए । कानुनभित्र रहेका जनताको विश्वास जित्न आएका दललाई आयोगले सदैव स्वागत गर्ने उनले बताए । उनले सामान्य भन्दा सामान्य त्रुटिले पनि निर्वाचन बिथोलिन सक्ने भएकाले आयोग यसप्रति सहज रहेको धारणा राखे ।
विप्लव नेतृत्वको पार्टीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामबाट राजनीतिक गतिविधि गर्दै आएपनि निर्वाचनका लागि कम्युनिस्ट पार्टी नेपाल प्रस्ताव गरेको हो । प्राप्त निवदेनमाथि अध्ययन गरेर आवश्यक निर्णय हुने आयोगले जनाएको छ ।


























































