कपिलवस्तु — अतीतमा हिन्दु र मुसलमान समुदायबीच धार्मिक विवाद र झडपका घटनाहरू बारम्बार हुने कपिलवस्तु जिल्लामा यस वर्ष कुनै अप्रिय घटना नघट्नु सकारात्मक सन्देशका रूपमा लिइएको छ। यस अवस्थामा जिल्ला प्रहरी प्रमुख (एसपी) सन्तोष आचार्यको सक्रियता र प्रभावकारी नेतृत्वलाई मुख्य कारणका रूपमा देखिएको छ।


ADVERTISEMENT


एसपी आचार्यले जिल्लामा आफ्नो कार्यकाल सुरु गरेदेखि नै समुदायबीच आपसी संवाद, विश्वास र सहकार्यमा जोड दिएका छन्। उनले स्थानीय धार्मिक अगुवा, राजनीतिक प्रतिनिधि र नागरिक समाजका सदस्यहरूसँग नियमित समन्वय बैठकहरू गर्दै सम्भावित संवेदनशील घटनाहरूलाई समयमै नियन्त्रणमा लिन सफल भएका छन्।


ADVERTISEMENT

# # #


प्रहरी स्रोतका अनुसार, आगामी चाडपर्वका अवसरमा समेत प्रहरीले विशेष सुरक्षा योजना कार्यान्वयन गरेको छ। आचार्यको निर्देशनमा “समुदाय–प्रहरी साझेदारी कार्यक्रम“ सञ्चालन गरिएको छ, जसले स्थानीय युवालाई पनि शान्ति र सद्भाव कायम राख्न प्रेरित गरेको छ।

स्थानीय बासिन्दाहरूका अनुसार, अघिल्ला वर्षहरूमा सानो विवाद पनि ठूलो झडपमा परिणत हुने अवस्था रहँदै आएकोमा यस वर्ष परिस्थितिमा उल्लेखनीय सुधार आएको छ। “प्रहरीको सतर्कता र निष्पक्ष व्यवहारले हामी सबैमा विश्वास बढाएको छ,” एक स्थानीय बासिन्दाले बताए।

विश्लेषकहरूका मतमा, कपिलवस्तु जस्तो विविधता भएको जिल्लामा धार्मिक सहिष्णुता र सामाजिक एकताको वातावरण कायम राख्न सुरक्षा निकायको सजगता अत्यन्त आवश्यक हुन्छ। यस सन्दर्भमा एसपी सन्तोष आचार्यको नेतृत्व र व्यवस्थापन शैली आगामी दिनका लागि उदाहरणीय बन्न सक्छ।