काठमाडौँ – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षका नेताहरुले नियोजित रुपमा पार्टीको महाधिवेशन सार्ने षडयन्त्र भइरहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित विशेष महाधिवेशन पक्ष भेलामा बोल्दै उनीहरुले पार्टीको महाधिवेशन सार्ने र पार्टीलाई अनिर्णयको बन्दी बनाउने षडयन्त्र भइरहेको बताएका हुन् ।
उनीहरुले विशेष महाधिवेशन माग गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षरलाई अवमूल्यन नगर्न चेतावनी समेत दिएका छन् ।
कांग्रेस नेता गुरुराज घिमिरेले विशेष महाधिवेशनको माग केवल महाधिवेशन प्रतिनिधिको बिषय मात्रै नभइ देशभरका कांग्रेस शुभेच्छुकको अभियान भएको बताए । ५४ प्रतिशतले विशेष महाधिवेशनको माग गरेपछि अनुमोदित भएसकेकाले केन्द्रीय समितिले बुझ्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै कांग्रेस नेता जगदीश नरसिह केसीले कांग्रेसलाई बलियो बनाउन समयमा नै महाधिवेशन गर्नुपर्ने बताए । उनले अहिलेको अवस्थामा नियमित अधिवेशन हुने देखिएकाले विशेष अधिवेशन अपरिहार्य रहेको धारणा राखे ।
त्यस्तै कांग्रेस काठमाडौं जिल्ला सभापतिमा सबुज बानियाँले नियमित गर्न समयको सम्भव नभएकाले बिशेष महाधिवेशनको प्रस्ताव राखेको भन्दै यसलाई पार्टीले बुझ्नुपर्ने बताए ।
त्यस्तै अन्य नेताहरुले केन्द्रीय समितिमा प्रस्तुत भएका दुई वटा कार्यतालिका प्रस्तुत हुँदा विवाद बढ्ने भएकाले विशेष महाधिवेशनमा जानुपर्ने धारणा राखेका छन् ।



























































