काठमाडौं–नेपाली कांग्रेसमा पदाधिकारी मनोनयनमा किचलो देखिएको छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी कसले लिने भन्ने विवाद केन्द्रीय समिति बैठकले केही दिनअघि टुंगो लगाए पनि पदाधिकारी मनोनयनका विषयमा कांग्रेसभित्र नयाँ विवाद देखा परेको हो ।


ADVERTISEMENT


सोही विवादका कारण महाधिवेशन भएको २६ महिनापछि पदाधिकारी मनोनयनका लागि गत सोमबार सभापति शेरबहादुर देउवाले बोलाएको बैठक स्थगित भएको थियो ।


ADVERTISEMENT

# # #


पार्टी विधानको व्यवस्थाअनुसार सभापति देउवाले निवार्चित केन्द्रीय सदस्यहरुको मात्र बैठक बोलाएपछि नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले असन्तुष्टि जनाएका थिए ।

आफ्नो पक्षसँग छलफलै नगरी सभापति देउवाले पदाधिकारी मनोनयन गर्न लागेको भन्दै उनीहरुले बैठक स्थगित गर्न माग गरेपछि महामन्त्री शशांक कोइरालाको पहलमा बैठक शुक्रबारका लागि सारिएको छ ।

उपसभापति, महामन्त्री र सहमहामन्त्री आफू निकट नेतालाई ल्याउने तयारीमा देउवा जुटेपछि असन्तुष्ट पक्ष कि सभापतिसँग बार्गेनि गरेर सहमहामन्त्री आफ्नो पक्षमा पार्ने होइन भने उनलाई कमजोर साबित गरेर आगामी महाधिवेशनमा जुट्ने रणनीतिमा लागेको छ । – आजको नागरिक दैनिकबाट