काठमाडौं – सिण्डिकेटको विरुद्धमा सरकार कडाभएपछि नेपाल राष्ट्रिय महासंघमा आवद्ध यातायात व्यवसायीले आज सार्वजनिक सवारी बन्द गरेपछि सरकार कडा रुपमा उत्रिएको छ ।


ADVERTISEMENT


गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले प्रमुख जिल्ला अधिकारीहरुलाई गाडी सञ्चालन नगर्ने यातायात व्यावसायीलाई पक्राउ गर्न निर्देशन दिएपछि व्यावसायी धमाधम पक्राउ पर्न थालेका छन् । यही अनुसार शुक्रबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला, पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष जीवन बञ्जाडे र महासचिव पदम गाहालगायतका ६५ जना भन्दा बढी व्यवसायीहरु विभिन्न जिल्लामा पक्राउ परेका छन् ।


ADVERTISEMENT

# # #


सरकारले यातायात क्षेत्रलाई आवश्यक सेवामा राखी हड्ताल निषेध गरेकाले यातायात नचलाउने ब्यवसायीहरुलाई पक्राउ गरेको हो ।

आवश्यक सेवा ऐन २०१४ अनुसार नेपालमा यातायात क्षेत्रमा हड्ताल गर्न पाइदैन । उक्त ऐनको दफा ३ को उपदफा १ मा भनिएको छ ‘सार्वजनिक हितको लागि आवश्यक एवं उचित लागेमा सरकारले नेपाल राजपत्रमा प्रकाशित आदेशद्वारा सोही आदेशमा तोकिएको कुनै आवश्यक सेवामा हड्ताल निषेध गर्न सक्नेछ ।’

यस अनुसार सरकारले यातायात क्षेत्रमा हड्ताल निषेध गरी सूचना राजपत्रमा प्रकाशित गरिसकेको छ ।

यसरी निषेध गरेको क्षेत्रमा हड्ताल गर्नेलाई ६ महिना कैद वा २ सय रुपैयाँसम्म जरिवाना वा दुबै सजायको व्यवस्था छ ।

शुक्रबार पक्राउ परेका यातायात व्यवसायीलाई सरकारले आवश्यक सेवा ऐन अनुसार कारबाही गर्ने बताएको छ । यदि सरकारले यसै ऐन अनुसार कारबाही गरेमा उनीहरुलाई ६ महिना कैद वा २ सय रुपैयाँ जरिवाना वा दुबै सजाय हुन सक्नेछ । यद्यपी सरकारले आवश्यक सेवा ऐनअनुसार मुद्दा चलाउने वा नचलाउने हेर्न बाँकी नै छ ।

हड्ताल गर्न कसैलाई उक्साएमा १ वर्ष कैद र १ हजार रुपैयासम्म जरिवाना हुनसक्नेछ । हड्तालका लागि चन्दा वा नगद सहायता दिनेलाई पनि १ वर्ष कैद र १ हजार रुपैयाँ जरिवानाको व्यवस्था ऐनमा गरिएको छ ।