काठमाडौं– कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । बिहीबार नेप्से परिसूचक ११.२९ अंक घटेर २५९६.१२ विन्दुमा झरेको छ।
नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ। बुधबार ४ अर्ब ६८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा बिहीबार ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट् शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ३० करोड ९१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, राधी विद्युत कम्पनीको साढे ३० करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने हिमालयन डिष्टिलरीको कारोबार रकम साढे २७ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। त्यसैगरी, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। घटेका उपसमूहहरुको गिरावटदर पनि १ प्रतिशतभन्दा कम रहेको छ।


























































