काठमाडौँ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा जाहेरी दिएको छ ।
सामाजिक सञ्जालबाट एमाले, कांग्रेसलगाएतका दलका साथै विदेशी देशहरुलाई गाली गरेको कसुरमा युवा संघले बालेन साहविरुद्ध जाहेरी दिएको हो ।
जाहेरीपत्रमा सार्वजनिक पदमा बसेको व्यक्तिले दलका साथै अन्य देशलाई गाली गरि सार्वजनिक शान्ति खलल गरेको, सामाजिक भाइचारा बिगारेको र अन्तराष्ट्रिय सम्बन्धमा समेत आँच आउने कार्य गरेकाले प्रचलित कानून बमोजिम कारवाही गर्न माग गरिएको राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष महाराज गुरुङले जानकारी दिए ।
साथै युवा संघले बालेनको राहदानी रोक्का गर्न समेत माग गरेको छ । जाहेरीमाथि छलफल गरेर आवश्यक प्रक्रिया अघि बढाउने जानकारी प्राप्त भएको उनले बताए ।
बालेनले केहिदिन अघि अश्लील शब्द प्रयोग गर्दै गालीगलौजयुक्त स्टाटस फेसबुकमा राखेका थिए । स्टाटसको आलोचना भएपछि बालेनले फेसबुकबाट हटाएका थिए ।


























































