काठमाडौँ – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले विशेष महाधिवशेनको कुनै औचित्य नभएको टिप्पणी गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस १५ औं महाधिवेशन बृहत दबाबमूलक भेलामा बोल्दै उनीहरुले अहिले पार्टीलाई बलियो बनाएर देशमा देखिएका संकट समाधानका लागि ध्यान केन्द्रीत गर्नुपर्ने समयमा विशेष महाधिवशेन गर्ने प्रसतावको कुनै औचित्य नभएको बताएका हुन् । उनीहरुले केन्द्रमा पहिले नै पदको बाँडफाँड गरेर विशेष महाधिवशेनको प्रस्ताव ल्याएको आरोप समेत लगाएका छन् ।
कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले कांग्रेस एक भएर अघि बढ्नुपर्ने समयमा दुई ध्रुवमा विभाजन हुने अवस्थाको पार्टीले मूल्याङ्कन गर्न जरुरी रहेको बताए ।
उनले अहिले महाधिवशेन गरेर पार्टी बनाउनुभन्दा देश बनाउन जरुरी रहेकाले निर्वाचनलाई सफल बनाउन ध्यान दिनुपर्ने उल्लेख गरे । निर्वाचन सम्पन्न भएपछि नियमित रुपमा महाधिवेशनमार्फत पार्टीलाई एकढिक्का बनाउनुपर्ने उनले बताए ।
उनले केन्द्रीय समितिले गलत निर्णय गरे परिणाम कसैको लागि पनि राम्रो नहुने धारणा राखे । त्यस्तै कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले पार्टी महामन्त्रीले सामाजिक सञ्जालबाट महाधिवेशनका बारेमा भ्रम छर्न खोजेको आरोप लगाए । उनले कसैले दबाब दिएकै आधारमा पार्टीलाई नियमित महाधिवेशनबाट छेक्न नसक्ने जिकिर गरे ।
कांग्रेसभित्र विशेष महाधिवेशन वा नियमित महाधिवेशन भन्ने विषयमा विवाद छ । विवादकै बीच विभिन्न पक्षधरले छुट्टाछुट्टै भेला समेत गरिरहेका छन् ।


























































