काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई छाडा ढंगले चलाउनका लागि सरकारले संसद भंग गरेको आरोप लगाएका छन् ।
बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको दोहराउदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाएका हुन् । ‘असंवैधानिक सरकारले किन प्रतिनिधिसभा भंग गरेको हो भने देशलाई बेलगाम छाडातन्त्रमा चलाउनका लागि,’उनले भने, ‘यो असंवैधानिक ढंगले भंग गरिएको छ, सिफारिस गर्ने हैसियत नै नभएकाहरुले सिफारिस गरेको छ ।’
संविधानको कुनै धारा नै उल्लेख गनरी राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेको बताउँदै उनले बिघटित प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै देशव्यापी आन्दोलन गर्न लागिएको जानकारी दिए । ओलीले पहिले नै फैसला सुनाइसकेको मान्छेलाई जनेजी आन्दोलन जाँचबुझ आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गरेको भन्दै आयोगको निर्णय मान्य नहुने स्पष्ट पारे ।
निर्वाचनको म्याण्डेड पाएको सरकारले गरेको राजदूत फिर्ता गर्ने काम उचित नभएको उल्लेख गर्दै ओलीले राजदूत फिर्ताका विषयमा अदालतले गरेको आदेश समेत प्रधानमन्त्रीले उल्लंघन गरेको धारणा राखे । उनले भने, ‘अदालतले फैसला गरेर भन्छ, राजदूत फिर्ता गरेको मिलेन, त्यही काम गर्न दिनु भनेर । तर प्रधानन्यायाधीश भइसकेको प्रधानमन्त्रीले अदालतले भनेर हुन्छ भनेर अदालतको ठाडो अपमान गर्दै उनकै आदेशमा पत्र लेख्न लगाइयो ।’
उनले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न नचाहने प्रधानमन्त्रीले तोकिएको समयमा निर्वाचन गर्नेमा आशंका रहेको बताए ।
अदालतमा आगो लगाउनेहरुबाट बनेको सरकारले निरन्तर रुपमा असंवैधानिक कार्य गरिरहेको उनको भनाइ छ । त्यस्तै ओलीले कम्युनिष्ट पार्टीबीच भएको एकताको कुनै अर्थ नरहेको बताए । झलनाथ खनाल आफुसंग कुरा गर्न आएको भन्दै उहाले पदमा कुरा नमिलेपछि माओवादीसंग मिल्न गएको बताए ।


























































