काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको तयारीकाबारे निर्वाचन आयोगसंग जानकारी लिएका छन् ।
बुधबार सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीसंग छलफल गर्दै प्रधानमन्त्री कार्कीले आसन्न निर्वाचनका बारेमा आयोगले अहिलेसम्म गरेका तयारीका बारेमा जानकारी लिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
त्यस्तै मतदाता नामावली दर्तामा देखिएका समस्या समाधानका लागि भएका प्रयासका बारेमा पनि प्रधानमन्त्रीले चासो व्यक्त गरेका थिए । छलफलका क्रममा प्रधानमन्त्री कार्कीले तोकिएको समयमा नै निर्वाचन सम्पन्न गर्नका लागि सबैको सहयोग हुने बताएको प्रवक्ता भट्टराईले जानकारी दिए ।
प्रवक्ता भट्टराईले आयोगले तीव्र रुपमा निर्वाचनको तयारी गरिरहेको भन्दै सरकारलाई निरन्तर आयोगले जानकारी गराइरहेको बताए ।


























































