रोल्पा– रोल्पाको सुकी दह गाउँपालिका–३ ले वडाभित्र रहेका सम्पूर्ण घर हरियो रंगले पोतेर देशकै पहिलो हरित वडा घोषणा गरेको छ ।


ADVERTISEMENT


वडाभित्र रहेका ७०० घरधुरीलाई हरियो रंगले पोतेसँगै हरित वडा घोषणा गरिएको वडाध्यक्ष जलेशकुमार केसीले जानकारी दिए । “वडालाई पूर्ण सरसफाइ उन्मुख घोषणा गर्नका लागि घरलाई एउटै रंगले पोतेका हौँ”, वडाध्यक्ष केसीले भने, “वडा नै हरियो हुँदा देशमै फरक पहिचान दिन सफल भएका छौँ ।”


ADVERTISEMENT

# # #


सो वडा देशकै प्रथम हरित वडा भएको सचिव कमलराज वलीले दाबी गरे । “वडा कार्यालयको नेतृत्वमा वडावासीको स्वतःस्फूर्त सहभागितामा अभियान थालिएको हो”, वलीले भने । पूर्ण सरसफाइको प्रारम्भिक खुड्किलो पार गरे पनि यसलाई दिगो बनाउन अझै धेरै काम गर्न बाँकी रहेको उनले बताए ।

वडाका सबै घर हरियो हुँदा वडाको रुप रंग नै फेरिएको छ । हरियो रंगलाई स्वच्छ वातावरणको प्रतीक मानिने भएकाले वडालाई स्वच्छ सफा र हराभरा बनाउन हरियो रंगले घर रंगाइएको जनाएको छ । वडाले गरेको आग्रहअनुसार वडावासी सबैले आफ्नो घर हरियो बनाएको वडा कार्यालयले बताएको छ ।

प्रदेश नं ५ सांसद दीपेन्द्र पुनमगर, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर वुढा, जिल्ला स्तरीय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि र सरोकारवालाको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी देशकै प्रथम हरित वडा तथा जिल्लाको पहिलो पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गरिएको हो ।