काठमाडौं–तेस्रोपटक नेपाल भ्रमणमा आउने तयारीमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसपटक पोखरामा बास बस्ने योजनामा रहेका थिए । तर, नेपाली पक्षको जोडबलका कारण उनको त्यो रहर अपुरो रहने भएको छ ।


ADVERTISEMENT


छिनछिनमा परिवर्तन भइरहने मौसम र पोखराको सुरक्षा प्रबन्धबारे नेपालले अडान लिएपछि पोखरामा बास बस्ने मोदीको योजना हेरफेर भएको हो । ‘भारतीय पक्षले बास बस्नका लागि पोखरा प्रस्ताव गरेको थियो, सायद मोदीकै इच्छाअनुसार त्यस्तो प्रस्ताव आएको हुनुपर्छ ।’ –परराष्ट्र मन्त्रालयका एक अधिकारीले स्रोतसँग भने।


ADVERTISEMENT

# # #


नेपालले व्यावहारिक पक्षबारे भारतीय पक्षलाई प्रस्ट्याएपछि मोदी काठमाडौंको बौद्धस्थित हायात होटलमा बास बस्ने भएका थिए । आगामी शुक्रबार भारतको विहार हुँदै सोझै जनकपुर पुग्ने मोदी त्यहाँको धार्मिक र अन्य कार्यक्रममा सहभागी भएर काठमाडौं आउने र फेरि साँझ पोखरा पुग्ने भारतले प्रस्ताव गरेको थियो।

भारतीय प्रधानमन्त्री मोदी पोखरा बस्ने योजनाबारे जिज्ञाशा राख्दा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले त्यसबारे आफूले कुनै जानकारी नपाएको बताएका थिए । ‘मैले त्यस्तो खबर सुनेको छैन, अनौपचारिक गतिविधिबारे म ‘अपडेट’ हुन पाएको छैन।’ –उनले भने । मोदी आगामी शुक्रबार भारतको विहारस्थित पटना विमानस्थल हुँदै जनकपुर पुग्ने कार्यक्रम रहेको छ । पटना विमानस्थलसम्म भारतीय एयर फोर्सको विशेष विमान र त्यहाँबाट भारतीय सैन्य हेलिकोप्टरबाट उहाँ सोझै जनकपुर पुग्ने कार्यतालिका तय भएको छ। – आजको नेपाल समाचारपत्रबाट