एजेन्सी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले किंग्स इलाभेन पन्जाबलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा राजस्थानले पन्जाबलाई १५ रनले हराएको हो ।


ADVERTISEMENT


जयपुरमा राजस्थानले दिएको १५९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभरमा ७ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । पन्जाबका लोकेश राहुलले अविजित ९५ रन जोडेपनि पन्जाबलाई जित दिलाउन सकेनन् । त्यस्तै पन्जाबका मार्कुस स्टिनिसले ११ रन जोड्दा अन्य ब्याट्सम्यान दोहोरो अंक जोड्न सकेनन् । राजस्थानका कृष्णपा गोथामले २ विकेट लिए ।


ADVERTISEMENT

# # #


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १५८ रन बनाएको थियो । राजस्थानको जितमा जोश बट्लरले ८२ रनको योगदान दिए । यस्तै सन्जु सामसनले २२, बेन स्टोक्सले १४ तथा स्टुवार्ड बिनीले ११ रन जोडे । पन्जाबका एन्ड्र्यु टेले ४ विकेट लिदा मुजिब उर रहमानको नाममा २ विकेट रह्यो ।

यो जितसँगै राजस्थानले १० खेलबाट ८ अंक जोडेको छ । र, राजस्थान लिगको छैटौं स्थानमा उक्लिएको छ । पराजित पन्जाब १० खेलबाट १२ अंकसहित लिगको तेस्रो स्थानमा रहेको छ ।

आईपीएलको शीर्ष स्थानमा रहेको सनराइजर्स हैदरावादले १० खेलबाट १६ अंक जोडेको छ । यस्तै दोस्रो स्थानको चेन्नई सुपर किंग्सको १४ अंक रहेको छ । १० अंक जोडेको कोलकाता नाइटराइडर्स चौथो स्थानमा रहदा पाँचौ स्थानको मुम्बई इण्डियन्सले ८ अंक जोडेको छ ।